काठमाडौं – चितवनको नयाँकिरण माविमा मतदान स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र अन्य दलका कार्यकर्ताबीच सुरु भएको विवाद धकेला धकेलमा परिणत भएपछि मतदान रोकिएको हो।
रास्वपाका कार्यकर्ताले उक्त क्षेत्रका उम्मेदवार रवि लामिछाने आएपछि नाराबाजी गरेका थिए। नाराबाजीले मतदानमा असर परेको र आचारसंहिता उल्लघन भएको भन्दै एमालेसहित अन्य दलका कार्यकर्ताहरुले विरोध सुरु गरेका थिए। उक्त विरोध धकेलाधकेलमा परिणत भएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले विवाद मिलाउनका लागि सर्वदलीय बैठक बसिरहेको छ। सर्वदलीय बैठकमा एमालेसहितका दलहरुले आचारसंहिता उल्लंघन भएकाले कारबाही हुनुपर्ने वा उम्मेदवारले कार्यकर्तालाई सम्झाएर माफी माग्दै मतदानस्थलको वातावरण शान्तिपूर्ण बनाउनुपर्ने माग गरेका छन्।
लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए। उनीहरुको नाराबाजीका कारण मतदानको लाइनमा उभिएका मानिसहरुलाईसमेत समस्या भएपछि प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो।
उनीहरुलाई हटाएर उक्त क्षेत्रमा पून मतदान सुरु भए पनि अन्य दलका सर्मथकहरुले पुन: विरोध गरेपछि विवाद बढेको हो। उक्त क्षेत्रमा नेपाली सेनाको टोली पनि पुगेको छ। सर्वदलीय बैठकपछि पुन: मतदान सुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ।