समाचार सुन्नुहोस् :
काठमाडौँ – सरकारले स्नातक (ब्याचलर) पास गरेर मात्रै विदेश जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिने तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ मा नयाँ व्यवस्था गरेर विदेश जाने विद्यार्थीलाई कडाइ गर्न लागेको हो। सरकारले यसअघि एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान एनओसी दिए पनि विद्यालय तहका विद्यार्थीलाई विदेश नपठाउने भनी १२ पास गरेर मात्रै विदेशमा पढ्न जान एनओसी दिँदै आएको थियो।
कक्षा १२ पास गरेपछि स्नातक पढ्न जान स्वीकृति पत्र दिइँदै आएको थियो। जारी हुन लागेको उक्त निर्देशिकामा त्यो व्यवस्था हटाइएको छ। राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का अनुसार यो निर्देशिकाले विद्यालय तहमा स्वयं खर्च गरेर अध्ययन गर्न जान चाहने भाषा अध्ययनहरूलाई आधार बनाएर उच्च शिक्षा प्राप्त गर्ने र प्राविधिक शिक्षा कार्यक्रमहरूमा नो अब्जेक्सन लेटर जारी नगर्ने व्यवस्था गर्न लागिएको छ।
यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए । तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै पाउने भएका छन् । जापानमा स्नातक अध्ययन गर्नका लागि पनि निश्चित समय भाषा अध्ययन गर्नुपर्ने भएकाले त्यसमा समस्या नहुने वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ । विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको हुने र शैक्षिक कार्यक्रमसँग जोडिएको भाषा अध्ययन हुनुपर्ने छ । शाखाका अनुसार गत आर्थिक वर्षमा डिप्लो तह अध्ययन गर्न जानेहरु ८ हजार ६१०, भाषा पढ्न जानेहरु ६ हजार ६०४ ले एनओसी लिएका थिए ।