समाचार सुन्नुहोस् :
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा आज बुधवार निर्णय लिने बताएका छन् । सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि मंगलबारसम्म गरिएको छानविनपछि रास्वपाले आज निर्णय लिन लागेको हो । केन्द्रीय समितिको बैठक बोलाएर आज निर्णय गर्ने रास्वपा सभापति लामिछानेको भनाइ छ । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उक्त जानकारी दिएका हुन् ।
अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारवीही गरिने लामिछानेको दावी छ । यसअघि, रास्वपाले सांसद श्रेष्ठसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप प्रकरणबारे मंगलबार नै वयान लिइसकेको छ । पार्टीको अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारामा वयान लिएको हो । उक्त टेपमा श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि रास्वपाको कोर टिमलाई बुझाउन भन्दै व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको सुनिन्छ । उक्त अडियो सार्वजनिक भएलगत्तै पार्टीले श्रेष्ठलाई निलम्बन गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
मंगलबारको वयानका क्रममा सांसद श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको दावी गरेका छन् । उनले पार्टीलाई पठाएको स्पष्टीकरणमा पनि अडियो सम्पादित रहेको उल्लेख गरेका थिए । यद्यपि, पार्टीको अनुशासन समितिले भने श्रेष्ठको दावीमा विश्वास गरेको छैन । यो घटनामाथि छानबिन सिध्याएर अनुशासन समितिले मंगलबार रातिसम्म नै पार्टीको केन्द्रीय समितिलाई सुझाव दिने तयारी थियो । समितिको सुझावकै आधारमा केन्द्रीय समितिले आज निर्णय लिनेछ । आज बस्ने रास्वपाको केन्द्रीय समितिको वैठकले उक्त निर्णय सार्वजनिक गर्नेछ ।