मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

आइतबार सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका थिए । उनले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।

त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । प्रहरीले छानबिनपछि लामिछानेले राहदानी लिएको भएपनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग रिट निवेदकले गरेका छन् । नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रूपमा उन्मुक्ति दिइएको दाबी सफलको छ ।

तपाईको प्रतिक्रिया