आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

उपचारको ४५औँ दिनसम्म आइपुग्दा भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेको भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ‘डा भण्डारी आज अरुको सहयोगमा आफैँ कुर्सीमा बस्नुका साथै तीन मिनेट हिँड्नुभयो’, न्यौपानेले भने ।

भण्डारीले राम्रोसँग बोल्न थालेको र स्मरणशक्ति ठीक अवस्थामा रहेको बताइएको छ । कलमी गरेको छालाले राम्रो काम गरेकाले चाँडै निको हुने विश्वास लिइएको छ । भण्डारीको फिजियोथेरापी क्रमिकरूपमा भइरहेको न्यौपानेको भनाइ छ । संक्रमण रोकथाम गर्नका लागि अस्पताल प्रशासन र चिकित्सकले अन्य व्यक्तिलाई भेटघाटका लागि बन्द गरेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया