आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

‘इरेजर’ अर्थात् सीसाकलमले लेखेको अक्षर मेट्न प्रयोग गरिने साधन, जसलाई हामी सबैका घर–घरमा साना बालबालिकादेखि हरेक उमेरका पढ्न-लेख्ने सबैले प्रयोग गर्ने गर्दछन् । बजारमा स्वदेशी र विदेशी ब्रान्डका थरिथरिका इरेजर जहाँसुकै किन्न पाइन्छ । तर हामीले आम रूपमा प्रयोग गर्ने ती इरेजर विषाक्त र हर्मोन उत्पादन गर्ने ग्रन्थिमा असर पुर्‍याउने रसायन फ्थालेटस् प्रयोग हुने कुराबारे भने हामी धेरै अनभिज्ञ नै छौँ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले हालै ‘हर्मोन उत्पादन गर्ने ग्रन्थिमा असर पुर्‍याउने रसायनहरू’ माथि बृहत् अध्ययन गरी ‘एडीसी फ्री एसिया २०२२’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन मार्फत त्यसको परिणामहरू सार्वजनिक गरेको थियो । केन्द्रले एक प्रेस विज्ञप्ति जारी गर्दै बालबालिकाले प्रयोग गर्ने इरेजरमा घातक फ्थालेट्सको नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

केन्द्रले दक्षिण कोरियास्थित फाइनान्सियल इन्डस्ट्री पब्लिक इन्टरेस्ट फाउन्डेसन र वन्जिन इन्टिच्युट अफ अकुपेशनल एन्ड इन्भाइरोमेन्ट हेल्थको सहयोगमा एसियाका अन्य ९ देशको सहभागितामा अध्ययन गरेको सिफेड नेपालका कार्यकारी निर्देशक रामचरित्र साहले जानकारी दिए । अध्ययनमा नेपालाबाहेक कोरिया, जापान, श्रीलंका, इन्डोनेसिया, बंगलादेश, मलेसिया, फिलिपिन्स, भियतनामको सहभागिता रहेको उनले बताए ।

अध्ययनमा नेपालबाट ५३ थरी गरी ९ देशका ४०० थरी इरेजरका नमुनाहरू समावेश गरिएका थिए । नेपालबाट संकलन गरिएका इरेजरका नमुनाहरू नेपाल, भारत, चीन, मलेसिया, ताईवान, जर्मनी, जापान, कोरिया र चेक रिपब्लिकमा बनेका थिए । नेपालबाट ३१ प्रकारका थर्मल पेपरका नमुनाको समेत अध्ययन गरिएको सिफेडको विज्ञप्तिमा उल्लेख छ ।

इरेजरका नमुना उपत्यकाभित्रका र जनकपुरका स्टेशनरी पसल, आर्ट स्टोर, डिपार्टमेन्टल स्टोर आदि विभिन्न थरिका पसलहरूबाट संकलन गरिएको विज्ञप्तिमा भनिएको छ । त्यस्तै थर्मल पेपरका नमुनाहरू अस्पताल, फार्मेसी, बैंक, एटिएम, सरकारी कार्यालय, साना तथा ठूला स्टोरहरू, रेस्टुरेन्ट, कफी शप, मोबाइल सपोर्ट सर्भिस सेन्टर सवारी, साधन पार्किङ लगायतका ठाउँहरूबाट संकलन गरिएको बताइएको छ ।

अध्ययनमा सहभागी एसियाका सबै ९ देशहरूबाट सङ्कलन गरिएका इरेजरहरूमा फ्थालेटसको मात्रा अत्यधिक पाइएको थियो । फ्थालेटस प्लास्टिकका सामानहरूलाई बढी टिकाउ बनाउन प्रयोग गरिने एक प्रकारको रसायन हो जुन हामीले प्रयोग गर्ने प्लास्टिकका हरेक सामानहरूमा प्रयोग गरिएका हुन्छन् ।

त्यस्तै थर्मले पेपर भनेका हामीले प्रयोग गर्ने आम कागजभन्दा फरक एटिएम मेसिन र बिलिङ मेसिनहरूमा प्रयोग हुने प्रिन्टिङ पेपर हो । थर्मल पेपरमा पनि शरीरलाई हानी बीपीए नामक रसायनको प्रयोग गरिने सिफेडका निर्देशक शाहले बताए ।

अध्ययनले एसियाली देशहरूमा थर्मल पेपरका रसिदहरूमा जोखिमका स्राेतहरू उच्च रहेको देखाएको शाहले बताए । पछिल्लो अध्ययनले यस्ता पेपरहरू विषाक्त हुने देखाएको बताउँदै नेपालमा मात्र नभई अन्य एसियाली देशहरूमा समेत थर्मल पेपरमा द्यातक रसायनको प्रयोगमा प्रतिबन्ध लगाउने कुनै नियम, ऐन–कानुन र मापदण्डहरू नै नभएको समेत शाहले जानकारी दिए ।

सिफेडले प्रेस विज्ञप्तिमार्फत फ्थालेट्सको प्रयोग र थर्मल पेपरको गुणस्तरमा अनिवार्य मापदण्डको व्यवस्थाका साथसाथै नियमित रूपमा नियमनको लागि आवश्यक कानुनी र संस्थागत संरचनाको निर्माण गर्न सम्बन्धित सबैलाई आह्वान गरेको वातावरण वैज्ञानिक समेत रहेका शाहले बताए ।

अन्य देशहरूबाट उत्पादित इरेजरको तुलनामा नेपालमै उत्पादित इरेजरमा फ्थालेट्सको मात्रा नगन्य पाइएकाले स्वदेशी उत्पादनको बढीभन्दा बढी प्रयोग गर्ने वातावरण बनाउन समेत शाहले सबैलाई आह्वान गरे । युरोपेली संघ, अमेरिका र अन्य धेरै विकसित राष्ट्रहरूले फ्थालेट्सको प्रयोगमा प्रतिबन्ध लगाइसकेको बताउँदै नेपालमा पनि त्यसलाई नियन्त्रण गर्न ठोस कानुन निर्माण गर्न शाहले जोडदार आग्रह गरे । स्राेतः INS न्युज

तपाईको प्रतिक्रिया