मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – नेपालको संविधानले राष्ट्रपतिलाई सर्वोच्च हैसियतमा राखेको छ । राष्ट्रपतिको सर्वोच्चताका आधारमा सेवा र सुविधा निर्धारण गरिएको छ । सुरक्षा प्रोटोकलदेखि सेवा सुविधाका कारण राष्ट्रपति पद बेला बेलामा आलोचित बन्ने गरेको छ । कस्तो छ त राष्ट्रपतिले पाउने सेवा सुविधाको फेहरिस्त ?

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक र सेवासम्बन्धी ऐन २०७४ मा राष्ट्रपतिले आफ्नो कार्यकालमा पाउने तलब भत्ता, सेवा सुविधा तथा निजी सचिवालयको व्यवस्था गरिएको छ । ऐनको दफा १ मा राष्ट्रपतिको मासिक पारिश्रमिकको व्यवस्था छ, जसबमोजिम राष्ट्रपतिले प्रतिमहिना १ लाख, ५० हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक पाउँछन् । ऐनको दफा ७ मा अतिथि सत्कार तथा भैपरी खर्चको व्यवस्था गरिएको छ ।

जसअनुसार राष्ट्रपतिले मासिक पारिश्रमिक बराबरको रकम अतिथि सत्कारका लागि खर्च गर्न पाउँछन्, जसको खर्चको बिल भरपाइ पेश गर्नु पर्दैन । यसबाहेक दफा १० बमोजिम चाडपर्व खर्चका नाममा प्रत्यक वर्ष राष्ट्रपतिलाई एक महिनाको पारिश्रमिक बराबरको खर्च प्रदान गरिन्छ । पोशाक खर्चका नाममा राष्ट्रपतिले प्रतिवर्ष २५ हजार रुपैयाँ पाउँछन् । यी ४ शिर्षकमा तलब सेवा वापत मात्र राष्ट्रपतिले एक वर्षमा ३७ लाख ८६ हजार २५० रुपैयाँ प्राप्त गर्छन । यसबाहेक भ्रमण भत्ताका नाममा स्वदेशको भ्रमणमा प्रतिदिन ३ हजार ३ सय रुपैयाँ र विदेश भ्रमणमा प्रतिदिन २ सय ५० अमेरिकी डलर प्राप्त गर्दछन्, जसमध्ये युरोपेली मुलुकहरुको भ्रमणमा ३३ प्रतिशत भत्ता थप गरिने ऐनमा उल्लेख छ ।

आवास सुविधा अन्तरगत राष्ट्रपतिका लागि नेपाल सरकारले सरकारी घरको बन्दोवस्त गर्छ । जसको मर्मत सम्भार र घरका लागि उपर्युक्त फर्निचरको व्यवस्थासमेत नेपाल सरकारले गर्ने व्यवस्था छ । राष्ट्रपति आवासका लागि टेलिफोन कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा समेत सरकारले व्यवस्था गर्छ । राष्ट्रपतिका लागि सरकारले उपर्युक्त सवारीको पनि व्यवस्था गरेको छ । यातायात मर्मत सम्भार र इन्धनको रकम समेत सरकारबाटै व्यवस्था गरिन्छ ।

यस्तै, राष्ट्रपतिले नेपाल सरकारको व्यवस्थामा एक जना निजी चिकित्सक राख्न पाउँछन् । उपचारका लागि स्वदेश वा विदेश जानुपर्ने अवस्थामा सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । यतिमात्र होइन, उपचार गराउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च समेत नेपाल सरकारले उपलब्ध गराउछ । यसबाहेक राष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन बढिमा ७ जनासम्म विज्ञ नियुक्त गर्न सक्ने ब्यवस्था छ ।

राष्ट्रपतिले निजी सचिवालयमा नियुक्त गर्न सक्ने पद-
१. प्रमुख स्वकीय सचिव १
२. सह–स्वकीय सचिव १
३. उप–स्वकीय सचिव २
४. स्वकीय अधिकृत ४
५. कम्प्यूटर सहायक १
६. फोटोग्राफर १
७. प्रेस संयोजक १
८.सवारी चालक ४
९. कार्यालय सहयोगी ४

राष्ट्राध्यक्षको हैसियतमा सरकारले लोभलाग्दो सेवा सुविधाको व्यवस्था गरिदिएको छ । तर यो सेवा सुविधालाई आफन्त र आसेपासे नियुक्तीको अवसर बनाउने गरिएको छ । जसका कारण राष्ट्रपतिको पदीय मर्यादामा आँच आउने गरेको छ । पदीय मर्यादा नाघेकै कारण सर्वसाधारणमा समेत राष्ट्रपतिको आलोचना हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया