बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले विशेष समारोहकाबीच नेपाली पत्रकारलाई सम्मान गरेका छन् । कार्यक्रममा १२ वर्षअघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरूमा पत्रकारहरू संस्थापक अध्यक्ष तिलक मल्लसहित भूषण घिमिरे, कृष्ण भण्डारी, हरिप्रसाद पोखरेल, कविकिरण न्यौपाने, विनोदकुमार सापकोटा रहेका छन् । मल्ल, भण्डारी, न्यौपाने र सापकोटा अहिले पनि नेपाल पत्रकार महासंघ, जापान शाखाको सल्लाहकार हुन् भने बाह्र वर्षअघि नेपाल गएका पोखरेल यसै कार्यक्रमको लागि जापान आएका थिए ।नेपाल पत्रकार महासंघ, जापान शाखाको स्थापना सन् २०११ मार्च १३ तारिख भएको थियो । महासंघले आफ्नो १२ वर्षको यात्रा पूरा गरेको छ । स्थापना दिवसको अवसरमा आइतबार अग्रज पत्रकारलाई सम्मान सहित शुभकामना आदान–प्रदानसमेत सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले जापानमा पत्रकार महासंघको जग बसालेको संस्थापकहरूलाई आदर र सम्मान गर्न पाउँदा खुसी लागेको बताए । नेपालमा झैँ जापानमा रहेका नेपालीबीच पनि एकता देख्दा खुसी लागेको उनको भनाई छ ।फरक प्रसङ्गमा बोल्दै उनले जापान रहेका नेपालीहरूका समस्या समाधान गर्न आफू लागिपरेको बताए । राजदूतावासमा फोन नउठ्ने गरेको गुनासो तत्काल समाधान गर्ने राजदूत सुवेदीले बताए । ‘समस्या सम्बोधनको काम भइरहेको छ,’ उनले भने, ‘हामी गुनासो नआउने कार्यसम्पादन गरिरहेका छौँ ।’नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्तकुमार पहरीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव राजन गौतमले सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई महासंघकी उपाध्यक्ष इन्दिरा खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, संस्थापक सल्लाहकार भूषण घिमिरे, निवर्तमान अध्यक्ष मोहन घले, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक ददिवल खड्का, नेपाली व्यवसायी संघ, जापानका अध्यक्ष विजय थकाली, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, बलेवा समाज जापानकी उपाध्यक्ष शान्ति बस्नेत, जनजाति महासंघ जापानका अध्यक्ष सञ्जीव राई, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, जन सम्पर्क समिति जापानका सभापति रोशन केसी, अन्तर्राष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ, गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।विभिन्न पेसा, व्यवसाय एवं अध्ययनको सिलसिलामा १ लाख ३० हजारको हाराहारीमा नेपाली रहेको जापानमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरी आबद्ध हुनेको सङ्ख्या ६५ रहेको छ ।

तपाईको प्रतिक्रिया