काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथको दर्शन गरेका छन् । केही बेरअघि पशुपतिनाथ मन्दिर पुगेका उनले त्यहाँ दर्शन र पूजा गरेका हुन् ।
राष्ट्रपति पौडेल अब सुन्दरीजल पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ । कांग्रेसका नेताहरू कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् ।
बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले सोमबार शपथग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबारमात्रै शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण गरेपछि उनले पद सम्हाल्नेछन् ।