काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज विभिन्न राजनीतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुने भएका छन् । राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्टै उनले सभामुख देवराज घिमिरेलाई भेट्ने तालिका बनाएका छन् । उनले सभामुखसँग अहिले बिहान ८ बजे भेट्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख आजै बहराइन जाँदैछन् ।
आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६औँ बैठकमा भाग लिन बहराइन जानु अघि नै राष्ट्रपतिले उनीसँग भेट्न लागेका हुन् ।सभामुखसँगको भेटपछि राष्ट्रपति पौडेलले पशुपतिको दर्शन गर्ने कार्यतालिका रहेको छ । तालिका अनुसार बिहान ९ बजे उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भएका हुन् ।उक्त दर्शन गरिसकेपछि राष्ट्रपति पौडेल ११ बजे सुन्दरीजल पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ।
बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालय बनाइएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेलको यो पहिलो दिको कार्यक्रम हो ।