Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

काठमाडौं – राजतन्त्र फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईँले नेताहरूले सत्ता फिर्ता गर्नु पर्ने भन्दै घर घेर्ने चेतावनी दिएका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को प्रदर्शनमा बोल्दै प्रसाईँले सत्तामा भएकाहरूले देश चलाउन नसक्ने भन्दै इज्जतका साथ सत्ता छोड्न आग्रह गरेका छन् ।

‘अब तपाईँहरूको गणतन्त्रले पार लागेन, तपाईँहरूले हामीलाई ३४ वर्षसम्म ढाँट्नु भयो । मेरो उमेर पनि बुढो भयो, तपाईँहरू पनि बुढो हुनुभयो । यो देश परिवर्तन हुँदैन । तपाईँहरू सरलक्कसित जहाँबाट सत्ता लिनु भएको हो, त्यो ठाउँमा सत्ता फिर्ता गर्नु होस् । हामी सत्ता लिन तयार छौँ । हामीले तपाईँहरूको घर घेर्नु नपरोस् । तपाईँहरूले सत्ता हस्तान्तरण गर्नुहोस् । इज्जतसँग गर्नुहोस् । तपाईँहरूले देश चलाउन सक्नु हुन्न । तपाईँहरूको देश चलाई हेरियो ।’

ओलीलाई प्रसाईँको व्यङ्ग्य
प्रसाईँले ऋण गरेर ल्याएको रेलमा त्रिपाल ओढाएर राखेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य हान्न भ्याएका छन् ।

‘मान्छे नभएको देशमा रेल ल्याएर थन्काएको छ । हिजो राजाले देश छोड्दै गर्दा २३ अर्ब ऋण थियो तर ६० वटा कारखानाहरू थिए । ती कारखानाहरू सबै बेचेर खाए । आज २२ खर्ब ऋण भयो केवल गाउँमा टावर बन्दै छ, कहाँ हेर्न बनाएको भन्दा डिल्ली हेर्न बनाएको रे, टावर चढ्ने मान्छे खाडीमा छन् । ऋण गरेर रेल ल्याएको छ, त्रिपाल ओढाएर राख्या छ,’ प्रसाईँले भने ।

सत्तामा बस्नेहरूले आफ्नो कार्यभार समाल्न नसके ईमान्दारपुर्वक सत्ता छोडेर जानु पर्ने भन्दै आक्रोशित भएका प्रसाईँले देशमा भएको भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया