आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकपको उपाधिमा अस्ट्रेलियाले दोस्रोपटक ह्याट्रिक गरेको छ । दक्षिण अफ्रिकाको केप टाउनमा आइतबार सम्पन्न फाइनलमा घरेलु टिमविरुद्ध १९ रनको जित निकाल्दै अस्ट्रेलियाले विश्वकपमा दोस्रोपटक लगातार उपाधि जितेको हो ।

सन् २००९ देखि सुरु भएको विश्वकपको आठ संस्करण समाप्त हुँदा अस्ट्रेलियाले ६ संस्करणको उपाधि जितेको छ । पहिलो संस्करणबाहेक सबै संस्करणको फाइनल खेलेको अस्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ को उपाधि जित्दै ह्याट्रिक गरेको थियो । सन् २०१६ को विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको अस्ट्रेलियाले त्यसपछि भने सन् २०१८, २०२० र अहिले २०२३ को उपाधि जित्दै विश्वकपमा दोस्रोपटक ह्याट्रिक गरेको हो ।

आइतबार केप टाउनमा अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । १५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाकी ओपनर लौरा वुल्भार्टिटले ६१ रन बनाएपनि टिमलाई जितसम्म डोहोर्‍याउन सकिनन् । क्लोइ ट्राइअनले २५, मारिजान कापले ११ र ताज्मिन ब्रिट्सले १० रन बनाइन् । अस्ट्रेलियाका मेगन सट, अस्लेघ गार्डनर, डार्सी ब्रोन र जेस जोनासनले समान एक विकेट लिए ।

अस्ट्रेलियाका बेथ मुनीले अविजित ७४ रन बनाइन् । मुनीले ५३ बलमा नौ चौका र एक छक्का प्रहार गरिन् । अस्लेघ गार्डनरले २८, एलिसा हेलीले १८ रन जोड्दा ग्रेस ह्यारिस र कप्तान मेग लानिङले समान १० रन बनाइन् । दक्षिण अफ्रिकाकी सबनिम इस्माइल र मारिजान क्लापले समान दुई विकेट लिए । नोन्कुलुलेका एमलाबा र क्लोई ट्राइअनले एक–एक विकेट लिए । महिला विश्वकपका दक्षिण अफ्रिका भने पहिलोपटक फाइनलमा पुगेको थियो ।

 

तपाईको प्रतिक्रिया