आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा हुने केपी ओली कप–२०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक गरिएको छ । केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो ।

फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । प्रतियोगितामा ८ वटा ए डिभिजनका समूहहरु सहभागि हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको उनले बताए ।

अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालीन नेताहरुमध्य ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गरिएको बताएका छन् । ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उनले उल्लेख गरे ।

यस प्रतियोगिताले अन्य राजनीतिक दलहरुका भ्रातृ संगठनलाई पनि प्रतियोगिता गर्न प्रेरित गर्ने र खेल क्षेत्रमा आर्थिक क्षेत्र चलायमान हुने उनले उल्लेख गरे । अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताए । केपी ओलीको नामबाट प्रतियोगिता आयोजना भएको भएपनि ओली भने दर्शक, फुटबल प्रेमी र शुभचिन्तकको रुपमा मात्र उपस्थित हुनसक्ने उनले बताए । प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टमेट रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया