काठमाडौँ – नेपाली यू–२० राष्ट्रिय महिला टीमले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। लिग चरणको अन्तिम खेलमा भारतलाई हराएर फाइनल पक्का गरेको नेपाल अर्को बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा रहेको छ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा साँझ ५ः४५ मा हुने फाइनलमा दुबै टिम एकअर्कालाई हराएर उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रिँदै छन्। नेपाली टिमका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल प्रतिस्पर्धामा उत्रने बताए। उनले भने, ‘घरेलु टोलीविरुद्ध हामी उपाधिकै लागि मैदानमा उत्रिने छौँ। हामी आयोजकलाई कडा टक्कर दिनेछौँ।’
बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक भए पनि घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि उचाल्ने बताए। उनले भने, ‘हामीले लिग चरणबाटै राम्रो प्रदर्शन गर्दै आएका छौँ। सो प्रदर्शन पुनः एकपटक दोहोर्याउँदै च्याम्पियन बन्ने लक्ष्यमा रहेका छौँ।’ राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो।
लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो। नेपाल लिग चरणको हारको बदला लिँदै उपाधिसहित घर फर्कने योजनामा हुनेछ।