आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आचार्यका परिवारले बीमा बापतको ५० लाख रुपैयाँ प्राप्त गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीमा जीवन बीमा गराएका उनको दाबी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दाबी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए । संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गर्नु अगाडी नोट सार्वजनिक गरेका थिए ।

सो नोटमा नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको आरोप लगाएका थिए । साथै बीमा कम्पनीहरूले प्रायः दुई–अढाई महिना लगाएर मात्रै यस्तो दाबी भुक्तानी दिने गरेकोमा आचार्यको हकमा भने मृत्यु भएको १५ दिनमा नै कम्पनीले दाबी भुक्तानी गरेर रेकर्ड कायम गरेको हो । बीमितको मृत्युपछि परिवारले यति छिटो दाबी भुक्तानी पाएको संभवतः यो पहिलो भएको बीमा क्षेत्रका जानकार बताउँछन् ।

तपाईको प्रतिक्रिया