काठमाडौँ – महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको बीबीसीले जनाएको छ ।पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी हुन् ।
सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो । बिहीबार राति उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन् ।