Deneme Bonusu Veren Siteler
सोमबार, पौष २२, २०८१
Monday, January 6, 2025

काठमाडौँ  – सरकारी तलब स्केलभन्दा दोब्बर तलब दिँदा पनि गाउँमा डाक्टर बस्न मान्दैनन् । सरकारी तलब सुविधा डाक्टरको मासिक पचास हजार हो । तर, चरिकोटको शैलुङ गाउँपालिकाले मासिक एक लाख तलब सुविधा दिनेभन्दा पनि चिकित्सकहरु आउन मानेका छैनन् । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबुु श्रेष्ठले आफ्नो पालिकामा ५ वेडको अस्पतालको लागि सरकारी स्केलभन्दा दोब्बर तलब दिँदा पनि डाक्टर बस्न नमानेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमक्ष गुनासो पोखे । त्यस्तै, गौरीशंकर गाउँपालिकामा पनि लामो समयदेखि सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर बस्नै नमानेको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए ।

सदरमुकाम चरिकोटबाट गाडीमा ३ घण्टामै प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्न सकिन्छ । तर, डाक्टरहरु दुर्गम भन्दै बस्न नमानेको पालिका अध्यक्ष विश्वास कार्कीले बताए । ‘गाडीमा सदरमुकाम बाट तीन घण्टामै स्वास्थ्य केन्द्रमा पुगिन्छ । तर, डाक्टरहरु दुर्गम भन्दै गाउँमा आउनै मान्दैनन्,’ उनले भने । दोलखाको उत्तरी क्षेत्र कालिञ्चोक गाउँपालिका गाउँपालिकास्थित सिंगटी अस्पतालमा पनि लामो समयदेखि डाक्टरबिहिन अवस्था रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले बताए । १५ वेडको अस्पताल अहेवको भरमा चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए । पछिल्लो अवस्थामा प्रदेश सरकारले कर्मचारीहरु काज सरुवा गरेकाले पनि अस्पतालहरु खाली हुुन थालेको जिरी नगरपालिकाका मेयर मित्र जिरेलले बताए ।

‘बाह्य सहयोगमा जिरी अस्पताल भव्य बनायौं ।  तर, स्वास्थ्यकर्मी अभावको कारण बिरामीले दुुःख पाएका छन्,’ उनले भने । अस्पतालमा स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी प्रशस्तै हुँदा दोलखालगायत रामेछाप, ओखलढुंगा र सिन्धुलीसमेत बिरामीहरुले स्वास्थ्य सेवा लिने गरेको मेयर जिरेलले बताए ।

तपाईको प्रतिक्रिया