काठमाडौँ – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (आइतबार) समुह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का समान दुई खेलहरु हुनेछ ।
दिनको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन अली स्टेडियममा हुनेछ ।जापान र कोस्टा रिका मैदानमा उत्रदा दुवै टोलीको लक्ष्य स्पष्ट जितकै हुनेछ । जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दा कोस्टा रिका स्पेनसँग ७–० ले पराजित भएको थियो ।
यस्तो अवस्थामा जापान उच्च मनोवलका साथ मैदान उत्रदा कोस्टा रिका फराकिलो हारको पीडा भुल्ने प्रयासमा हुनेछ । सातौपटक विश्वकप खेलिरहेको जापान लगातार दोस्रो पटक नकआउट चरण पुग्ने योजनामा हुनेछ । यसअघि जापानले २०१८ मा समूह चरण पार गरेको थियो ।
जापान पहिलो पटक विश्वकपमा लगातार दुई जित निकाल्ने लक्षमा हुनेछ । जापानले विश्वकपका पछिल्ला पाँच खेलमध्ये चार खेलमा दुई गोल गरेको छ । यता कोस्टा रिका पहिलो जितको खोजीमा हुनेछ । कोस्टा रिका पहिलो खेलमा स्पेनसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । कोस्टा रिका उक्त हारलाई बिर्सदै जित निकाल्ने योजनामा मैदान उत्रनेछ ।
सन् २००२ मा समूह चरणमा चीनलाई २–० ले हराएर कोस्टा रिकाले त्यसपछि विश्वकपमा पहिलोपटक एसियाली टोलीसँग खेल्न लागेको हो । स्पेनविरुद्ध जेविसन बेनेट (१८ वर्ष १६१ दिन) फिफा विश्वकपमा उपस्थिति हुने कोस्टा रिकाको सबैभन्दा कान्छो खेलाडी बने । जबकि ब्रायन रुइज (३७ वर्ष ९७ दिन) सोही खेलमा सबैभन्दा पाका खेलाडी बनेका छन्।
यि दुई टोली हालसम्म चारपटक भेट हुँदा जापान अपराजित छ । जापानले ३ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जापानले कोस्टा रिकालाई ३–० ले पराजित गरेको थियो । जापानले विश्वकपमा २२ खेल खेल्दा ६ जित, ५ बराबरी र ११ हारको नतिजा निकालेको छ । यता, कोस्टा रिकाले १९ खेल खेल्दा ५ जित, ५ बराबरी र ९ हारको नतिजा निकालेको छ ।