शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – नेपाल वायुसेवा निगम व्यवस्थापनले बेलैमा वाइडबडी जहाजका लागि एउटा पाङ्ग्रा जुटाउन नसक्दा दिल्लीका लागि बिहान १० बजेदेखि विमानस्थल पुगेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । निगमका एक इन्जिनियरका अनुसार पाङ्ग्रा सप्लायर कम्पनीलाई समयमै रकम भुक्तानी नगर्दा निगमको उडान प्रभावित भएको यो दोस्रो घटना हो ।

यसअघि साउन पहिलो साता पनि निगम व्यवस्थापनले बेलैमा पाङ्ग्रा खरिद नगर्दा दिल्लीकालागि बेलैमा जानुपर्ने २ सय ५० जना यात्रु काठमाडौंमा अलपत्र परेका थिए भने उताबाट फर्किने यात्रु पनि दिल्लीमा घन्टौं कुर्न बाध्य भएका थिए । वाइडबडीको पछाडिका ८ वटामध्ये फेर्नुपर्ने एउटा पाङ्ग्रा बेलैमा उपलब्ध नहुँदा दिल्लीका लागि साढे १ बजे उड्नुपर्ने निगमको वाइडबडी अहिलेसम्म मर्मत नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका हुन् ।

निगमका एक निर्देशकले आरए २१७ उडान साँझ ५ बजेसम्म हुने र आजै साँझ दिल्लीबाट फर्किने बताए । निगमको तालिकाअनुसार आरए २१७ नम्बरको उडान हरेक दिन काठमाडौंबाट १स:२५ मा दिल्ली जाने र उताबाट भारतीय समय अनुसार ४:२० मा काठमाडौं फर्किने तालिका छ ।

पाङग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दिल्ली जाने निगमका सबै यात्रुलाई बोर्डिङ पास लिइसकेको र जहाजको पर्खाइमा रहेको बताए । ‘आठ घण्टाभन्दा बढी समय लाग्ने भए निगमले यात्रुलाई होटलमा पठाउनुपर्ने हुन्छ, हामीलाई ५ बजेतिर जहाज उडाउने जानकारी दिइएको छ । विमानस्थल कार्यालयले यसमा सहजीकरण गर्दै छ,’ प्रवक्ता सिटौलाले भने ।

‘काठमाडौंबाट २ सय १५ जना यात्रु दिल्ली जानुपर्ने, जहाजको पाङ्ग्रा फेर्नुपर्ने खबर आएकाले यात्रुहरुको सुरक्षा जाँच गरेर विमानस्थलमा रहेका सोल्टी र र्‍याडिसन होटलले सञ्चालन गरेका लाउन्जमा खाना–खाजाको व्यवस्था गरिएको छ, विमानस्थलस्थित निगमका एक कर्मचारीले भने,‘हामीलाई ५ देखि साढे ५ सम्म जहाज उडाउने खबर आएकाले यात्रुलाई त्यही भनिरहेका छौं । अर्जेन्ट भएका र अर्को जहाजबाट युरोप अमेरिका जानेलाई भारतीय एयरलायन्समा टिकट काटेर पठाइरहेका छौं । अझै दुई जनाको व्यवस्था गर्दै छौं ।’

तपाईको प्रतिक्रिया