काठमाडौं – आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबन्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्ट्रिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।
निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ ।
त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ । ‘गठबन्धनबीच चुनावी तालमेल दुई÷चार सिट तलमाथि भए पनि हुन्छ तर मूल चुरो चार पदमा अड्किएको छ,’ उच्च स्रोतले राजधानीसँग भन्यो, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभा अध्यक्षमा कुरा अड्किएको हो, सबैभन्दा बढी जोड राष्ट्रिय सभा अध्यक्षबाहेकका तीन पदमा छ ।’
त्यस्तै, जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १ सय ६५ सिटमा लगभग सहमति हुने सम्भावना बढेको छ । बुधबार सहमति गरेर प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको छ ।
गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्रारम्भिक खाका तयार गरिएको छ । कांग्रेसलाई सिट बढी दिँदा बाबुराम भट्टराई, वामदेव गौतम र लोसालाई मिलाउने जिम्मा पनि कांग्रेसलाई नै दिनुपर्ने जनमोर्चाबाहेकका अन्य तीन दलको अडान छ ।
‘बैठकमा भित्र मुख्य विषय उठ्दैन, बाहिर आआफ्ना दाबी आउँछन्, समस्या अघि होइन, पछिपछि देखिएको छ, गठबन्धनले बनाएको कार्यदलले एउटा आँकडा तयार गरेर, मूल विषयमा माथिल्लो तहबाट नै निर्णय हुन्छ,’ स्रोत भन्छ ।
सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललेसमेत राजधानीमा आयोजित एक कार्यक्रममा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए । उनले गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएकाले सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुँदैन भन्नेमा आशंका व्यक्त गरेका थिए ।
गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो ।
कार्यदलभित्र सहमति हुने अवस्था नबनेपछि कार्यदलले शीर्ष तहका नेतालाई नै सहमतिको गाँठो खोल्ने जिम्मा दिएर प्रतिवेदन बुझाइसकेको छ । शीर्ष तहबाट निर्वाचन क्षेत्रअनुसार सिट बाँडफाँटको आधार खोज्ने प्रयास जारी छ । –राजधानी दैनिकबाट