बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – ब्रिटिश प्राध्यापक न्याटली विल्शरले आफ्नो पाखुरामा अल्बर्ट आइन्स्टाइनको ट्याटू बनाएकी छन् । उनका खुट्टा, नाडी तथा गोलीगाँठामा पनि ट्याटू छन् ।

खुट्टाको माथिल्लो भाग र गोलीगाँठोमा ट्याटू खोपाउँदा उनलाई अत्यधिक पीडा भयो । उनी विज्ञान विषय पढाउँछिन् । ‘पीडा हाम्रो शरीरले आफूलाई जोगाउने उपाय हो र स्नायुले पीडा पत्ता लगाउँछ,’ उनले व्याख्या गरिन् । ‘कम बोसो र धेरै स्नायु भएको अङ्गमा ट्याटू खोप्दा धेरै पीडा हुन्छ,’ उनले भनिन् ।

खुट्टा, गोलीगाँठा र घुँडामुनिको भागबाहेक काखी र करङ पनि संवेदनशील अङ्ग हुन् । यद्यपि पीडाको मात्रा व्यक्तिको संवेदनशीलतामा पनि भर पर्छ । ‘ट्याटू खोप्दा सम्बन्धित अङ्गका स्नायुहरूमा क्षति पुग्छ र तिनले मस्तिष्कलाई पीडाबोध गराउने सन्देश प्रवाह गर्छन्,’ उनले भनिन् ।

ट्याटू खोप्ने क्रममा सबै व्यक्तिको शारीरिक प्रतिक्रिया एकैनासको नहुन सक्छ । ‘पीडा सहने क्षमता व्यक्तिपिच्छे फरक हुन्छ,’ उनले भनिन् ।

पहिलो ट्याटू
अहिलेसम्मकै पुरानो ट्याटू ओएट्जीमा फेला परेको एउटा परिरक्षित शरीरमा देखिएको थियो । आइसम्यान अर्थात् हिममानव भनेर चिनिने ती व्यक्तिको शरीर एल्प्स पर्वतशृङ्खलाअन्तर्गत इटलीको एउटा विकट क्षेत्रमा फेला परेको थियो ।

उक्त शव त्यहाँ झन्डै ५,००० वर्षसम्म हिउँमा जमेर बसेको थियो । ‘ओएट्जीमा देखिएको उक्त ट्याटू निकै सानो र अस्पष्ट थियो। त्यो थोप्ला र धर्साहरूको मिश्रित आकृति थियो । मानवशास्त्रीहरूले त्यो औषधीय प्रयोजनका लागि गरिएको एक्यूपङ्चरको स्वरूप हुन सक्ने आकलन गरेका छन्,’ विल्शरले भनिन् ।

त्यतिबेलाका मानिसहरूले छाला निकालेर कसरी घाउ निको पारे होलान् भनेर उनी अचम्म मान्छिन् । घाउ निको हुन महिनौँ लागेको हुन सक्ने उनको अनुमान छ । ‘पाषणयुग र कांस्ययुगका बेला मानिसहरूले ट्याटू खोप्ने र त्यसबाट बिरामी नपर्ने कुरा निकै अद्भुत छ । उनीहरूसँग त्यसबारे ज्ञान हुनु निकै आश्चर्यजनक कुरा हो ।’

समयक्रममा ट्याटू खोप्नु सबैका लागि आफ्नो कथा भन्ने माध्यम बनेको छ । ‘मिथकका अनुसार अठारौँ शताब्दीको अन्त्यतिर प्रशान्त महासागरमा यात्राको बेला कप्तान जेम्स कुकले विभिन्न किसिमका ट्याटू खोपेका मानिसहरू देखेका थिए । उनको चालकदलका ९० प्रतिशत मानिसले आफ्नो यात्राको चिनोस्वरूप ट्याटू बनाएको विश्वास गरिन्छ,’ उनले जानकारी दिइन् ।

ब्रिटिश जलसेनाका चालकहरूले त्यो परम्परालाई त्यतिबेलादेखि ग्रहण गरेको र त्यसपश्चात् यात्रापछि ट्याटू खोप्न थालेको ठानिन्छ । पिसाब र बारुद मिलाएर बनाइएको विशेष मसीबाट उनीहरूको ट्याटू बनाइने विल्शरले बताइन् । उन्नाइसौँ शताब्दीको अन्त्यतिर निर्मित ट्याटू बनाउने उपकरण थोमस एडिसनको प्रिन्टरमा आधारित हुन्थ्यो । ‘सन् १८७५ मा पहिलो पटक बनेयता त्यसमा खासै परिवर्तन आएको छैन । अहिले पनि त्यस उपकरणले प्रतिमिनेट ५० देखि ३००० पटक सम्म छाला छेड्न सक्छ ।’

शरीरको सर्वाधिक ठूलो अङ्ग
छाला मान्छेको शरीरको प्रमुख अङ्ग हो र यसले कुल तौलको २५ प्रतिशत भाग औगट्छ । छालाको सबैभन्दा बाहिरी पत्र प्रत्येक २८ दिनमा फेरिन्छ । तर पनि किन ट्याटू खुइलिँदैन त ?

छालाको संरचनाबारे व्याख्या गर्दै प्राध्यापक विल्शर भन्छिन्- ‘ छालामा मुख्यतः तीन तह हुन्छन् । बाहिरी तहमा एपिडर्मिस, बीचमा डर्मिस र भित्री तहमा हाइपोडर्मिस । डर्मिस तहमा रक्तनलीहरू, पसिनाग्रन्थिहरू, रौँको जरा र स्नायुहरू हुन्छन् । त्यस्तै हाइपोडर्मिस छालाको सबैभन्दा बाक्लो तह हो जसमा बोसोको पत्र हुन्छ ।’

‘ट्याटू खोप्दा मसी छालाको मध्यभागमा पुर्‍याइन्छ जहाँ पीडा अनुभव गराउने स्नायुहरू पनि हुन्छन् । छालाको मध्यतहलाई एपिडर्मिसले सुरक्षित राखेको हुनाले ट्याटू सजिलै खुइलिँदैन ।’ ट्याटू खोप्ने क्रममा डर्मिस तहमा मसी पुग्दा शरीरले आफूलाई चोट पुगेको ठान्छ ।

प्रतिकारस्वरूप क्षति कम गर्न उक्त स्थानमा श्वेत रक्तकोषहरू परिचालित हुन्छन् । यसरी पठाइएका कोषहरूले मसी सोसेर त्यसलाई रगतमार्फत् विसर्जन गर्छन् । तर मसीमा भएका रङ्गकणहरू निकै ठूलो आकारका हुने भएकाले तिनलाई हटाउन श्वेत रक्तकोषलाई कठिन हुन्छ । फलस्वरूप रङ्गहरू सतहमै टाँसिएर बस्छन् । -बीबीसी

तपाईको प्रतिक्रिया