शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएको गाडीहरुलाई स्थानीयले आज बिहानैदेखि अवरोध गरेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई अवरोध गरेका हुन् ।

हिजो पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । उनले भने,‘ उहाँहरुले पहिले पनि अवरोध गर्दै आउनुभएको थियो । पुर्ण रुपमा अवरोध हटेको थिएन । उहाँहरुले हिजो फोहोर विर्सजनमा अवरोध गर्दा पक्राउ परेको स्थानीयलाई रिहाइको माग गरेर अवरोध गरेका हुन् । ती स्थानीयलाई कानुनी प्रक्रिया पुरा गरेर छोड्दै । त्यसपछि उहाँहरुले अवरोध हटाउनुहुन्छ ।’

स्थानीयको अवरोधपछि फोहोर बोकेर गएको गाडीहरु लामो लाइन लागेको छ ।उनका अनुसार आज पनि फोहोर विसर्जन गर्न प्रहरी परिचालन गरिएको छ । बुधबार साँझ काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच भएकाे छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध  हटाउने ४ बुँदे सहमति भएको थियो ।

आजमात्रै काठमाडौंको फोहोर बोकेर आज ६० वटा टिपर बञ्चरेडाँडा गएको छ । काठमाडौं महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर बोकेर ६० वटा टिपर ल्याण्डफिल्ड साइटमा हिडेको छ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा टिपर, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र सामान्तन्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा हिडेको हो ।

तपाईको प्रतिक्रिया