आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोकियोस्थित नेपाली राजदूतावासको सेवा र जनशक्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजित ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।जापानमा नेपालीहरूको सङ्ख्या बढेपनि राजदूतावासको जनशक्ति नबढ्दा समस्या भएको आफूले पाएको उनले बताए । ‘८/१० हजार नेपाली रहेको र अहिले सवा लाख नेपाली रहेको अवस्थासम्म पनि दूतावासको सेवा क्षमता वृद्धि नहुनु दुखद हो’ अध्यक्ष प्रचण्डले भने, ‘मैले यहाँका नेपालीको अवस्था र समस्या बुझ्ने क्रममा दूतावासको सेवाको विषय पनि सुनेँ, यसको समाधानका लागि म नेपाल फर्किने बित्तिकै पहल गर्छु ।’उनले यहाँबाट नेपाल फर्केपछि प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग दूतावासको सेवामा रहेका समस्या समाधानका लागि पहल गर्ने उद्घोष गरे । विदेशमा रहेको यत्ति ठूलो जनशक्ति र पूँजीलाई परिचालन गर्न संयन्त्र बनाउनु पर्नेमा त्यसो हुन नसकेको स्वीकार गरे । अब विदेशमा रहेको नेपालीको सीप र क्षमताको स्वदेशमा सदुपयोग गर्ने विषयमा आफूले पहल गर्ने उनको भनाई छ ।

दुनियाँको कुनै पनि देशमा जाँदा हामीलाई गरिबीको नजरले हेर्ने गरेको अध्यक्ष प्रचण्डले बताए । ‘कुनै पनि विमानस्थल वा देशमा जाँदा नेपाली अर्थात् गरिब देशका नागरिक र धनी देशका नागरिकबीच विभेद कायमै रहेको मैले महसुस गरेको छु । आत्मसम्मानलाई कसरी अभिवृद्धि गर्ने भन्ने चिन्ता सबै नेपाली रहेको छ,’ उनले भने, ‘सबैको मत कसरी नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने पाएँ, यसका लागि समृद्ध नेपाल बनाउन हामी सबैले लाग्नुपर्नेछ ।’अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्री, एनआरएन आइसीसीका संरक्षक भवन भट्ट, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तलगायत नेपाली समुदायका विविध क्षेत्रका नेपालीहरूको सहभागिता थियो ।

पाँच दिने जापान भ्रमणका लागि शनिबार त्यहाँ पुगेका अध्यक्ष प्रचण्डले पहिलो दिन फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गरेको थिए । आइतबार आणविक बम खसालिएको हिरोसिमा सहरस्थित सङ्ग्रहालय अवलोकन गरेका थिए । उनले जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । अध्यक्ष प्रचण्ड साउन २५ गते स्वदेश फर्किने छन् ।

तपाईको प्रतिक्रिया