आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् । जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्त्वपूर्ण छलफल भइरहेको बताएका हुन्र ।

उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरू प्रयासरत रहेको बताए । नेपाल र जापान बिचको सम्बन्ध पुरानो रहेको भन्दै उनले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिए । नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्‍याएको सहयोगप्रति पूर्व प्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिए ।

दातृ देशका रूपमा जापान नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमण केन्द्रित रहने उनले विश्वास व्यक्त गरे । जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गरे ।

आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताए । पाँच दिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आज यहाँ पुगेका हुन् ।

तपाईको प्रतिक्रिया