बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – स्पेनमा मंकीपक्सको दोस्रो बिरामीको मृत्यु भएको पुष्टि भएको छ। स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मंंकीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो।मंकीपक्सका कारण पहिलो मृत्यु भएको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो।

मन्त्रालयले भनेको छ, ‘कूल तीन हजार ७५० मा मंकीपक्स संक्रमणको शंका गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ।’ मृतकमध्ये ‘दुई युवकहरू रहेको र दुवै मृत्युका बारेमा थप अध्ययन भइरहेको जनाइएको छ।

स्पेनी स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मंकीपक्सको संक्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ। मंकीपक्स संक्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ। ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मंकीपक्स संक्रमित पहिलो बिरामीको मृत्यु भएको घोषणा गरेको थियो।

यस पहिले अफ्रिकामा मंकीपक्स संक्रमित नागरिकको मृत्यु भएको थियो। अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ तत्कालीन समयमा महामारीको रूप लिएको थियो। यद्यपि यस वर्ष मंकीपक्स संक्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन। विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटका रुपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो।

 

तपाईको प्रतिक्रिया