बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडाैं – अफ्रिकाबाहिर पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । त्यसको केहीबेरमा स्पेनले समेत भाइरस जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ जुन युरोपमै पहिलो घटना हो ।

गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । तर त्यसको सङ्क्रमण धेरैजसो मध्यमखालको र आम जनसङ्ख्यामा जोखिम कम हुने गरेको पाइन्छ ।

ब्रजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटाभन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ । ब्रजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १,०६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ ।

ब्रजिलको स्वास्थ्य मन्त्रालयको अनुमानमा ९८ प्रतिशत पुष्टि भएका घटना पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा देखिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३,७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ । जसमध्ये ३.२ प्रतिशत अर्थात् १२० जना अस्पताल भर्ना भएको र १ जनाको मृत्यु भएको जनाएको छ । उसले मृतकबारे थप विवरण दिएको छैन ।

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार संसारभर यतिखेर २१,१४८ सङ्क्रमितहरू रहेका छन् । मङ्कीपक्स भाइरस बिफर गराउने भाइरसकै परिवारमा पर्छ । यद्यपि यो कम गम्भीर रहेको र सङ्क्रमणको सम्भावना पनि कम रहने विज्ञहरूले बताएका छन् । यो धेरैजसो मध्य तथा पश्चिम अफ्रिकी देशका उष्णप्रदेशीय बर्खेजङ्गल नजिकैका दुर्गम भेगमा देखिने गर्छ । -बीबीसी

तपाईको प्रतिक्रिया