आठ महिना मन्त्री पद सम्हालेर बिदा हुँदैगर्दा रामकुमारी झाँक्रीबारे धेरै चर्चा र टिप्पणी भए । पार्टीभित्र मन्त्रीका लागि अरू नेताले दाबेदारी गर्दा उनी भावुक हुँदै शहरी विकास मन्त्रीबाट फिर्ता भइन् । स्थानीय तह निर्वाचनमा पार्टीको आशातीत नतिजा पनि आएन, जसले गर्दा पार्टीमा असन्तुष्टि बढेको लख काट्न थालिएको छ । आफूलाई वामपन्थी दाबी गर्ने दलहरू निर्वाचनमा एक्लाएक्लै लड्दा कमजोर साबित भएपछि वाम एकताउपरको बहस पनि दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको देखिन्छ । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी पूर्वमन्त्री झाँक्रीसँग निर्वाचनको तयारी, ? गठबन्धनको भविष्य र वाम एकतालगायतका विषयमा केन्द्रित रहेर नेपाली समाचारका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-
पद छोड्नु पर्दा किन आँसु ?
मैले आठ महिना काम गरेको मैले प्रस्तुत गर्न नसकेको वेलामा साथीहरूले सहयोग गर्नुभयो । त्यो साथीहरूको संगतले अलिकति ‘इमोसनल’ हुनु स्वाभाविक हो । त्यसबारे मैले अधिकांश ठाउँमा भनी पनि सकेँ । अस्तिदेखि मैले बोलेको कुरा पनि त्यही छ । मान्छेमा कुनै न कुनै कमजोरी हुन्छ । मेरो भावनासँग कसैले कुरा गरे भने त्यसमा एकदमै भावुक हुने धेरै इमोसनल हुने र त्यसलाई कन्ट्रोल गर्न नसक्ने त्यो खालको कमजोरी मसँग रहेछ । जुन कुरा मैले लुकाउन सकिनँ । रह्यो टिप्पणीको कुरा- मेरो कामसँग सम्बन्धित टिप्पणी गरिएको भए फरक कुरा हुन्थ्यो । मन्त्री पदमा रहँदाको अवधिमा सरकारमा रहेर कहाँ, कति र कस्तो काम गरेँ भन्ने खालको टिप्पणी भएका छैनन् । खाली बदनाम गर्ने नियतका साथ भनेका छन् भने त्यसको जवाफ कहिल्यै दिनै पर्दैन । मेरो प्रस्तुतिलाई लिएर कसैले केही भन्नुभएको छ भने त्यो पनि ठूलो कुरा होइन ।
तर तपाईँहरूलाई सरकारबाट बाहिरिन साह्रै मुस्किल पर्याे !
जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएको थियो । १९ गतेतिर अर्थ मन्त्रालयले मन्त्रालयगत बजेको शीर्षकमा विनियोजित भएको बजेटलाई मन्त्रालयले हेर्न भन्यो । त्यसपछि हामीले आफ्नो मन्त्रालयको बजेटमा के भएछ हेर्न, किताब छाप्ने र संसद्मा त्यसबारे छलफलमा जाने तयारी गरिरहेका थियौँ । त्यही बेला मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने भन्ने निर्णय पार्टीले गरेको मिडियाबाट थाहा भयो । त्यसपछि अध्यक्षले बोलाउनु पनि भएको थियो । बजेटसम्बन्धी छलफल चलिरहेका बेला मन्त्री हटाउन कि कसुर गरेको हुनुपर्याे । सानातिना नैतिक कसुर गरेकालाई त अध्यक्षज्यूले छोपछाप गरेरै राख्नुभएको थियो । हाम्रो एकमात्रै सर्त भनेको बजेटमा यति धेरै काम गरेका छौँ, प्रतिनिधि र राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिन्छौँ भन्ने मात्रै थियो । तर उहाँहरूले हामीलाई बदनाम गर्ने आफ्नो कमजोरी ढाकछोप गर्नु जुन काम गर्नुभयो त्यो कुरा चाहिँ नेतृत्वको अपरिपक्वता, पूर्वाग्रह भन्न सकिन्छ । हामीले जुन कुरा भनिरहेका थियौँ । त्यो गरेर पनि देखाइसकेका छौँ ।
अब मन्त्री हुँदा यो चाहिँ गर्छु भन्ने सोचेको तर, गर्न नसकेको कुनै विषय छ ?
काम गर्न धेरै कठिनाइ हुँदो रहेछ । प्रक्रिया लामो हुन्छ, यति लामो कि यो काम यसरी गर्ने भन्ने सोच आएर निर्णय गरेर कार्यक्रममा पठाउनुपर्ने बेलासम्म पनि धेरै नै मेहनत गर्नुपरेको हुन्छ । त्यो निर्णय गरेर अर्को निर्णयसम्म पुग्न यति लामो प्रक्रिया हुन्छ कि प्रक्रियाले नै ६ महिना खाइदिने । एउटा उदाहरण दिन्छु- म जाने बेलासम्म बागमती खोलाहरू सुख्खा भएर एकदमै गन्ध आउने भइसकेका थिए, खोलाको सतह सफा गर्ने अनि दायाँबायाँ ओभर’ले गर्ने, अन्डरपासलाई मर्मत गर्ने भनेर आउँदा आउँदै गरेको निर्णय हो । अब त्यो गरिसकेपछि स्रोतको सुनिश्चितता चाहियो, आफूसँगको भएको स्रोतको एक बाक्साबाट अर्को बाक्सामा हाल्यो, त्यो सहमति लिन अर्थमा जानुपर्याे । अर्थले सहमति दिएर यहाँ आएर खरिद प्रक्रिया पूरा गर्दा करिब-करिब ५ महिना लाग्छ । माघमा सुरु गरेको बर्खा लागिसक्दा पनि गर्न सकिएन । यो त एउटा उदाहरण मात्रै हो, त्यसलै अहिले सुरु गरेको कामको रिजल्ट अहिले आउने होइन, बिस्तारै देखिँदै जाने कुरा हुन् । मैले सहरी विकास मन्त्रालयको भूमिका प्रदेशमा पनि हुने गरी केही संरचनामा परिवर्तन गर्ने कुरामा हामी, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयसहित सरोकारवालाहरूले सल्लाह गरेका थियौँ । कार्यान्वयन गर्नलाई फाइनल ओएनएम भएको थियो अब मन्त्रिपरिषद्मा लाग्न बाँकी थियो त्यो मैले गर्न पाइनँ ।
खोला किनारको सुकुम्वासी बस्ती हटाउन अभियान नै चलाउनुभयो तर, सफल भएन नि ?
सफल भइन्थ्यो तर, राजनीतिक तहमा काम गर्न दिँदैनन् । त्यही ८ महिनामा पनि आधाउधि काम गर्न सक्थे तर काम गर्न दिइएन । के छ भने- एउटा चर्च बन्छ, त्यसले ख्रीष्टियनिटी प्रवर्द्धन गरेको छ तर गरिबीको गीत गाउँछ अनि त्यहाँ गरिब ल्याएर राख्छ । एउटा सत्य साईबाबा हुन्छ त्यहाँ धर्म गुरु जान्छन् तिनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गर्छ । ओम शान्ति हुन्छ, त्यसले पनि त्यही गर्छ । संस्थागत हिसाबले सार्वजनिक जग्गाका अतिक्रमण र दोहन चर्को छ । यो म हटाउन चाहथ्ये र हटाउनको लागि अन्तिम परिपत्र गरेको थिएँ । राजनीतिक दबाबलाई पनि मैले मतलब गरेको थिइन र विभिन्न एनजीओ-आइएनजिओको धन्दा चल्न पनि गरिबीको व्यापार भइरहनुपर्छ । फेरि यिनै राजनीतिक दलका भोटर छन् त्यसले गर्दा काम गर्न दिँदैनन् । रेन्ट सिकिङ भन्छ नि ! तर रेन्ट सिकिङ होइन, भोट सिकिङ । भोटरका लागि गलत कुरालाई पनि हो भन्दिने राजनीतिक नेतृत्व हुँदासम्म भोटका लागि संरक्षण गर्ने तरिका हुँदासम्म दीर्घकालीन रूपमा समस्या समाधान गर्न सक्दैनौँ ।
प्रसङ्ग मोडौँ, अब प्रदेश र संघको निर्वाचन आउँदैछ पार्टीले तयारी कस्तो गर्दैछ ?
भर्खरै सचिवालय, पोलिटब्युरो, स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय परिषद्को बैठक बस्यो । त्यही बैठकको निर्णय र योजनाको आधारमा हामी लाग्छौँ । हामीले सोचेजस्तो परिणाम ल्याउँछौँ भन्ने स्थानीय तहको नतिजाले पनि देखाइसकेको छ । आजसम्मको पार्टीको निर्णय गठबन्धनमा जानुपर्छ । तर सम्मानजनक हुनुपर्छ भन्ने नै हो । गठबन्धनभन्दा बाहिर पार्टीले मात्रै नभएर व्यक्तिहरूले पनि सोचेजस्तो लाग्दैन । तर पार्टीको परिस्थिति पनि गठबन्धनभन्दा बाहिर सोच्ने खालको छैन ।
वाम गठबन्धन र एकताको पनि चर्चा चलिरहेको छ । त्यसको सम्भावना कस्तो छ ?
वाम पार्टीमध्ये सबैभन्दा ठूलो पार्टी एमाले नै हो । हामीले एमालेबाट विद्रोह गर्दा जुन एजेण्डा राखेका थियौँ । त्यो परिवर्तन भएको छैन । दुई-दुई पटक संसद् विघटन गर्नु गलत थियो । संवैधानिक अंगहरूलाई निष्प्रभावी हुनेगरी प्रभावित गर्नु गलत थियो । संवैधानिक संकट ल्याउनु गलत थियो भन्ने तहसम्म एमालेको नेतृत्व नपुगेसम्म तत्काल वाम गठबन्धन र एकताको सम्भावना छैन । त्यो विषय कतै प्रवेश र छलफल भएको पनि छैन ।
तपाईँको पार्टी प्रवक्ताले एमालेसँग सहकार्यको गर्न केही सर्त राख्नुभएको थियो नि !
पार्टीमा त्यस्तो निर्णय भएजस्तो लाग्दैन । छलफलमा मैले पनि भाग लिएको थिएँ । एमालेसँग छलफल गर्ने भन्नेबारे कुनै कुरै पार्टीभित्र भएको छैन । यही पार्टीलाई एमालेभन्दा क्रान्तिकारी र ठूलो बनाउने योजना लिएर हिँडेका छौँ । अहिले हाम्रो अभियान भनेको एकीकृत समाजवादी पार्टीलाई निर्माण गर्ने नै हो । एमालेमा लगेर समाजवादीलाई मिसाउने वा माओवादीमा लगेर मिसाउने भन्ने एजेण्डा होइन । एमालेभित्र हामीले किन विद्रोह गरेका थियौँ भने एमालेको नेतृत्व नीति, सिद्धान्त, आदर्शको विरुद्धमा थियो । यतिमात्र होइन, उसले संविधानलाई नै मिचेर लोकतन्त्रलाई समाप्त पार्ने दिशामा ऊ अगाडि बढ्यो । हामीले त्यसलाई प्रतिगमन भन्यौँ र पार्टीबाट अलग भयौँ । अहिलेको विद्यमान लोकतान्त्रिक प्रणालीलाई समाप्त पार्न जो लागिरहेको छ उसलाई वामपन्थी भन्न मिल्दैन । साँचो अर्थमा वामपन्थी हुनका लागि योभन्दा अगाडिको बाटोमा हिँड्नुपर्छ । अगाडि हिँड्नु त परको कुरा एमाले पछाडि फर्किरहेको छ । पश्चगामी कहिले पनि प्रगतिशील हुन सक्दैन । कुरा एमालेसँग एकता हुन्छ कि हुँदैन भन्दा पनि एमाले वामपन्थी हो कि होइन भन्ने मुख्य प्रश्न हो । हामी साँचो अर्थमा वामपन्थीसँग सहकार्य गर्न सधैँ तयार छौँ ।
अब अन्त्यमा, आगामी चुनावमा एकीकृत समाजवादी कहाँ हुन्छ, कति सिट ल्याउने आकलन छ ?
आसन्न चुनावमा एकीकृत समाजवादी देशैभर हुन्छ, १६५ प्रतिनिधि तथा २३० प्रादेशिक सदस्यका लागि । अब अहिल्यै यतिउति सिट ल्याउँछौँ भनेर हामी भन्दैनौँ । यो अहिलेदेखि नै प्रचार गरेर हिँड्ने कुरा पनि होइन । कति कुरा आन्तरिक हुन्छन् । कहाँ को उठ्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल हुन्छ । तर, गठबन्धनले यो चुनावमा पनि अपमान गर्यो भने हामीले एक्लै चुनाव लड्छौँ । त्यसको तयारी पनि हामीले अहिल्यैदेखि गरिसकेका छौँ । गठबन्धन भए गठबन्धनमा सामेल भएर चुनाव लड्ने होइन भने एक्लै चुनाव लड्ने हाम्रो निष्कर्ष हो । सारमा भन्नुपर्दा, देशैभर हाम्रो सशक्त उपस्थिति हुन्छ ।