काठमाडौँ – बलिउड अभिनेत्री सुष्मिता सेन अहिले आईपीएलका पूर्व अध्यक्ष ललित मोदीसंग आफ्नो सम्बन्धलाई लिएर चर्चामा छिन् । ललित मोदीले हालै सुष्मिता सेनसंगका रोमान्टिक तस्बिरहरु शेयर गर्दै आफुहरुको सम्बन्धको बारेमा जानकारी दिएका थिए । ललित मोदीले प्रारम्भमा तस्बिर शेयर गरेर सुष्मितालाई आफ्नो बेटरहाफ भनेका थिए ।
उनको उक्त पोष्टपछि सुष्मिता र ललितको विवाह भएको आशंका गरिएको थियो । तर मोदीले यसबारेमा सफाइ दिँदै आफुहरु अहिले एक–अर्कालाई डेट गरिरहेको र छिट्टै विवाह गर्ने बताएका थिए ।
यद्यपि, यस बारेमा सुष्मिताको प्रतिक्रिया अहिलेसम्म शून्य थियो । तर अहिले सुष्मिताले पनि मुख खोलेकी छिन् । सुष्मिताले सामाजिक सञ्जालमा आफ्ना छोरीहरुसंगको तस्बिर शेयर गर्दै एउटा पोस्ट पनि लेखेकी छिन् । जसमा उनले भनेकी छिन् – ‘म एउटा खुशी हुने स्थानमा छु । मेरो न त विवाह भएको छ, न स्वंम्बर नै भएको छ । कुनै शर्त बिनाको प्रेममा घेरिएकी छु । स्पष्टीकरण धेरै भयो…अब आफ्नो काम र जीवनमा फर्किएकी छु । मेरो खुशीमा सधैँ सहभागि भएकोमा धन्यवाद र जो सहभागि हुनु हुन्न उनीहरुलाई पनि धन्यवाद ।’ सुष्मिताको उक्त पोस्टले उनी आफ्नो नयाँ सम्बन्धसंग धेरै खुशी छिन् । उनले आफुले विवाह अथवा स्वयंबर दुबै नगरेको पनि स्पष्ट पारेकी छिन् ।