बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ ले बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखिसकेको छ।

घरेलु बक्स अफिसमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्म भारतमा पनि प्रदर्शन हुने भएको छ। भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले यो फिल्म प्रदर्शन गर्न लागेको हो। पिभिआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ को ट्रेलर राख्दै आगामी शुक्रबारबाट प्रदर्शन हुने जानकारी दिएको छ। पिभिआरमा पहिलाे पटक नेपाली फिल्म प्रदर्शन हुन लागेकाे हाे।

यो फिल्म भारतको सिक्किमबाहेक अन्य सहरमा प्रदर्शन हुनेछ। बौद्ध धर्म मर्ममा ठेस पुर्‍याएको भन्दै सिक्किम सरकारले ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगाएको थियो।

समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।

फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन्।

तपाईको प्रतिक्रिया