काठमाडाैं – नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ ।
सोमबार शपथ लिनेगरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरे को थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो।
त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरे का थिए। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटघाट गरे र पार्टीका तर्फबाट नयाँ मन्त्रीको नाम दिएका थिए।
तर साँझ एकाएक घटनाक्रम बदलिएको थियो। नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको अवस्थामा दिउँसो अध्यक्ष नेपालले सरकारमा सहभागी सबै मन्त्रीलाई बोलाएर चित्त नदुखाउन र साथीहरूलाई पालो दिन आग्रह गरे का थिए। उनले एमालेबाट सबैजना विद्रोह गरे र आएका कारण सरकारमा जाने अवसर पनि दिन अनुरोध गरे का थिए।
त्यही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको निर्णय मान्ने तर अहिले उपयुक्त समय नभएको बताएका थिए। अध्यक्ष नेपालले यो विषयमा पछि नै समीक्षा गर्ने तर अहिलेलाई पार्टीको निर्णय मान्नुपर्ने दबाब दिएका थिए। दिउँसो आफ्नो पार्टीका नेताहरूलाई सरकारबाट फिर्ता बोलाएका अध्यक्ष नेपालले माओवादी अध्यक्ष दाहाललाई पनि भेट गरे का थिए।
दाहालसँग भेटघाट गर्दा पनि नेपालले पार्टीको निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताएपछि आइतबार साँझ नै मन्त्री आलेले प्रधानमन्त्री देउवालाई भेटेर अहिले नै सरकारबाट हट्नुपर्ने कारण नभएको र त्यसो गरिए पार्टी र सरकार दुवैलाई अप्ठेरो पर्न सक्ने संकेत गरे का थिए। ‘पर्यटनमन्त्री आलेले पार्टी र सरकार दुवैलाई संकट आउने संकेत गरे का कारण हाललाई मन्त्रिमण्डल हेरफेर रोक्ने निर्णय भएको देखिन्छ,’ नेकपा एसका एक नेताले भने।
आले प्रधानमन्त्री निवासबाट फर्केपछि आइतबार राति मन्त्री विरोध खतिवडा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री दाहाल निवास पुगेका थिए। उनीहरूले पार्टी अध्यक्ष नेपाललाई सम्झाइदिन आग्रह गरे का थिए। ‘केही साथीले फेरि पनि दाम्लो चुँडाल्न खोजेको, जसले गर्दा सरकार नै अल्पमतमा पर्ने देखिएको भन्दै अध्यक्ष नेपाललाई सम्झाइदिन आग्रह गरिएको देखिन्छ,’ स्रोतले भन्यो।
नेकपा एसका अर्का एक नेताका अनुसार चार मन्त्री सिंगो पार्टीभन्दा बलिया देखिएका छन्। मन्त्रीहरूले प्रधानमन्त्री र दाहाल दुवैलाई मनाएर पार्टी अध्यक्ष नेपाललाई अप्ठेरामा पारे को उनको भनाइ छ। ‘पार्टीभित्र माधव नेपाललाई अप्ठेरो बनाउने काम भयो। जसरी आइयो त्यसरी नै फिर्ता हुने हो भन्ने खालका धम्कीपूर्ण कुरा पनि सुनियो। केही साथीको बालुवाटार र खुमलटार दौडधुपले पार्टीलाई संकटमा पार्ने काम भयो,’ उनले भने।
उनका अनुसार आलेलगायत केही नेताले प्रधानमन्त्री देउवालाई मनाएर तत्काल मन्त्रिपरिषद पुनर्गठन नगर्ने तहमा पुर्याएका थिए। स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रिपरिषद् परिवर्तन गर्ने हल्ला बजारबाट आएको र बजारबाटै सिद्धिएको बताए। ‘बजारमा मन्त्री फेर्ने हल्ला थियो। त्यो हल्ला बजारबाटै हराएको छ,’ उनले भने, ‘यसबारे मलाई जानकारी छैन।’
एमालेबाट विभाजन भएलगत्तै सरकारमा सहभागी भएको नेकपा एसले ६ महिनापछि मन्त्री बदल्ने भनेको थियो। पार्टीले सुरुमा ६ महिनाका लागि भनेर नेताहरूलाई सरकारमा पठाएको थियो। सोहीबमोजिम पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको देखिन्छ। नेकपा एसबाट मन्त्री बनेका खतिवडा, आले, श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका थिए । -नागरिक दैनिकबाट