काठमाडौं – लियोनल मेसीले पाँच गोल गरेपछि अर्जेन्टिनाले आइतबार राति मैत्रीपूर्ण फुटबल खेलमा इस्टोनियालाई ५–० ले हराएको छ । मेसीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको यो पहिलोपटक हो ।
योसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने चौथो खेलाडी बनेका छन् । स्पेनमा सम्पन्न खेलमा मेसीले पहिलो हाफमै दुई गोल गरेका थिए । पीएसजीका फरवार्ड मेसीले दोस्रो हाफमा थप तीन गोल गरेका हुन् ।
मेसीले आठौँ मिनेटमा पेनाल्टीमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा मेसीले अग्रता दोब्बर बनाए । ४७औँ मिनेटमा मेसीले तेस्रो गोल थपे । ७१औँ मिनेटमा चौथो गोल गरेका मेसीले ७६औँ मिनेटमा पाँचौँ गोल गरेका हुन्
योसँगै मेसीले सिनियर करियरमा पहिलोपटक अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गर्न सफल भएका छन् । यसअघि, मेसीले बार्सिलोनाबाट भने एकै खेलमा पाँच गोल गरेका थिए । सन् २०११/१२ को च्याम्पियन्स लिग अन्तिम–१६ मा बार्सिलोनाले बायर लेभरकुसेनलाई ७–१ ले हराउँदा मेसी एक्लैले पाँच गोल गरेका थिए ।
३४ वर्षीय मेसीले अर्जेन्टिनाबाट ८६ गोल गरिसकेका छन् । उनले हंगेरीका महान् खेलाडी फेरेन्क पुस्कासलाई पनि पछि पारेका छन् । पुस्कासले ८४ गोल गरेका थिए ।
मेसीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इरानका अली दाई र मलेसियाका मोख्तर दहारी छन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले ११७ गोल गरिसकेका छन् । अली दाईले १०९ र दहारीले ८९ गोल गरेका छन् ।
गएको साता सम्पन्न ‘फिनालिसिमा’मा पनि इटालीलाई ३–० ले हराउँदा बार्सिलोनाका पूर्वफरवार्ड मेसीले दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए । फिनालिसिमा कोपा अमेरिका विजेता र युरोपियन च्याम्पियनसिप विजेताबीचको खेल थियो । मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्न सफल भएको थियो । त्यो मेसीले राष्ट्रका लागि जितेको पहिलो ठूलो उपाधि थियो ।
अर्जेन्टिना पछिल्ला ३३ खेलमा अपराजित छ ।