शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै नयाँ आर्थिक वर्षका लागि सो रकम विनियोजन गरेका हुन्।

चालू आर्थिक वर्षमा भने सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।  सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नयाँ आर्थिक वर्षमा खेल पूर्वाधार निर्माणमा ८७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक र पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ। जुम्लाको टोप्ला पाटनलगायतका स्थानमा हाई अल्टिच्युड स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिएको छ। यसैगरी नयाँ आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको छ। २०६० सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सिलान्यास गरिएको मूलपानी रंगशाला अहिलेसम्म पनि पूरा भएको छैन। मूलपानी रंगशालाका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा बजेट विनियोजन भए पनि निर्माणले गति लिन सकेको छैन।

  •     युवा तथा खेलकुद मन्त्रालय : २ अर्ब ४६ करोड
  •     खेलकुदमा २८ करोड घट्यो
  •     चालू आर्थिक वर्षमा २ अर्ब ७४ करोड
  •     राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्ब ९ करोड
  •     पूर्वाधार निर्माणमा ८७ करोड
  •     कीर्तिपुर, मूलपानी, गौतम बुद्ध र फाप्ला क्रिकेट रंगशालालाई प्राथमिकता
  •     मूलपानी यसै आर्थिक वर्षमा सम्पन्न गर्ने
  •     कीर्तिपुरमा रात्रिकालीन खेलका लागि फ्लड लाइटको व्यवस्था
  •     गौतम बुद्ध निर्माणमा प्रदेश र स्थानीय तहसँगको समन्वय
  •     २० वर्षीय गुरुयोजना निर्माण
  •     नवौं र १०औं राष्ट्रिय खेलकुदका लागि बजेट व्यवस्था
  •     मटिहानी, कठार, मध्यबिन्दुमा अत्याधुनिक रिक्रियसन सेन्टर

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी फ्लड लाइट राख्नका लागि आवश्यक बजेट विनियोजन गरिने भएको छ। यस्तै प्रदेश र स्थानीय तहसँगको समन्वयमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सम्पन्न गरिने भएको छ।

यसैगरी आगामी असोज अन्तिममा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी दिएका छन्। यसैगरी कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारण निर्माणका लागि पनि बजेट विनियोजन गरिएको बताएका छन्।

सरकारले स्थानीय तह खेल ग्राम कार्यक्रमलाई निरन्तरता दिँदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ। यस्तै धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेलग्राम निर्माणका लागि पनि बजेटको व्यवस्था गरेको अर्थमन्त्री शर्माले जनाएका छन्।

यसैगरी खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार गर्ने, विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग आयोजना गर्न अनुकूल वातावरण निर्माण गर्ने, खेलकुद संघको संस्थागत क्षमता विकास गरी खेलकुद प्रतियोगिता आयोजनामा प्रभावकारी भूमिका बनाइने, खेल संघलाई दिँदै आएको अनुदान वृद्धि गर्ने, खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ। यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बिमाको प्रबन्ध गर्ने व्यवस्था गरेको छ। एसियाली र ओलम्पिक खेलका पदक विजेता खेलाडीलाई आजीवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ।

नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममा महोत्तरीको मटिहानी, चितवनको कठार, पूर्वी नवलपरासीको मध्यबिन्दुमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया