शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – चीनको शाङहाईमा गएको महीना एउटै कार विक्री भएको छैन । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि कठोर खालको उपायहरु अपनाएपछि चीनको सबैभन्दा ठूलो महानगरीय क्षेत्र साङ्हाईमा कार विक्री शून्य बनेको हो ।

अहिलेसम्मकै खराब अवस्थामा पुगेको संक्रमण नियन्त्रण गर्न कठोर लकडाउन बीच अधिकारीहरुले सर्वसाधारणहरुलाई घरमै बस्न आदेश दिएका थिए भने कयौं व्यवसायहरु बन्द गरिएको थियो । सोमबार चाँही अधिकारीहरुले न्यून स्तरमा केही क्षेत्रमा गतिविधिलाई अनुमति दिने घोषणा गरेको भएपनि सर्वसाधारणहरुलाई आवासीय भवनहरु बहिर जाने अनुमति नदिएको समाचारहरु आइरहेका छन् ।

कोभिडसम्बन्धी प्रतिबन्धका कारण कार बजारमा गम्भीर असर परेको छ । लगभग सबै डिलर बन्द भएको र कार विक्री नै नभएको शाङहाई अटोमोबाइल विक्री संगठनले सोमवार एक विज्ञप्तिमा भनेको थियो । समग्रमा भने अघिल्लो महीनाको तुलनामा अप्रिलमा चीनमा कारको विक्री ४६ प्रतिशतले घटेर १२ लाख थानमा आएको छ । अप्रिलका लागि यो एक दशकयताकै सबैभन्दा खराब विक्री भएको चीनको अटो मोबाइल उत्पादक संघले गएको हप्ता बताएको थियो ।

२ वर्षयताकै खराब महामारी नियन्त्रण गर्न चीनले देशका ३० भन्दा धेरै शहरमा पूर्ण वा आंशिक प्रतिबन्ध लागू गरेको छ । चीनको कार विक्रीमा शाङ्हाई शीर्ष स्थान रहँदै आएको छ । गत वर्ष त्यहाँ ७ लाख ३६ हजार ७०० नयाँ कार विकेका थिए । यो चीनका सबै शहरमध्ये सबैभन्दा धेरै हो । शाङ्हाई चीनको मुख्य अटो हब पनि हो । यहाँ टेस्ला, फकसवागन लगायत कयौं बहुराष्ट्रिय कम्पनीको कारखाना छ भने बोश र जे एफ ग्रूपगायत मुख्य पार्ट्स निर्माताको कारखाना पनि यही छ ।

शाङ्हाई र अन्य शहरमा लगाइएको लकडाउनका कारण विश्वभर आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएको छ । चीनमा उपभोक्ता खर्च प्रभावित भएको छ । शाङ्हाईको लकडाउनका कारण जापानी अटो निर्माता कम्पनी टोयोटाले यो महीना ६ दिनसम्म जापानमा रहेका आफ्नो ८ ओटा कारखानाका १४ ओटा प्रडक्शन लाइन बन्द गर्ने निर्णय गरेको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया