शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

सस्तो र चाँडै बच्चा भुलाउने गुलियो मिठाई हो -ललिपप । एकैछिन मुख गुलियो बनाएर रित्तिन्छ, न पेट अघाउँछ न छाक नै टार्छ ।

देशमा यतिबेला चुनावको सरगर्मी बढिरहेको छ । गाउँ घर, शहर बजार टोल गल्ली जताततै चुनावी चटारो छ । नेता र कार्यकर्ताहरूलाई भ्याईनभ्याई मङ्सिर लागेको छ यसबेला । नागरिक बेहोसी छन्, जता गुलियो उतै भुलिरहेका छन् । आफ्नो पार्टीको सिद्धान्त र विधानलाई एकातिर थाती राखेर अर्को पार्टीले केही अवसर दिन्छ भने उतै पनि ढल्किएका छन् । चुनावी बसाइसराइ चलिहरेको छ- पुरानो पार्टी परित्याग र नयाँ पार्टीमा प्रवेश ।

एकातिर चरम गरिबी, अशिक्षा र अभावले आम नागरिकहरू पीडित त छदैछन् । अर्कातिर अस्थिर राजनीति परिपाटीले र बोझिलो चुनावले देश झनै ओरालो लागिरहेको छ। राजनीतिक बेथिति र बेरोजगारको मारमा पिसोलिएका युवाहरू राजनीतिक पार्टीका झण्डा बोक्दै केही समय तामझाम नाचगान र गुजारा त गर्छन् नै तर, यसले दीर्घकालीन जीवनमा खासै महत्त्व राखेको पाइँदैन, जुन इतिहासबाट प्रस्टै बुझ्न सकिन्छ ।

आजसम्म आइपुग्दा थोर बहुत नागरिकहरूमा केही राजनीतिक चेतनाको विकास भएको पनि हो  पुराना राजनीतिक दलहरूको घोषणापत्र र धरातलीय यथार्थतालाई नजिकबाटै नियालिसकेका पनि छन् । राजनीतिमा फरक पृष्ठभूमिका केही युवाहरू पनि मेयरका प्रतिस्पर्धी उभिएका छन् । सक्षम छन्, योग्य छन् । आफै योजना बनाउन सक्छन् । बौद्धिक पनि छन्, अवसर पाए आफ्नो क्षेत्रमा कायापलट गर्न पनि सक्छन् ।

बालेन शाहहरू छन्, गनेस पौडेलहरू पनि जागेका छन् । यी  स्वतन्त्र युवाहरूको नयाँ जोसिला भिजनहरूमा धेरै युवाहरूले साथ र सपोर्ट गर्दै आइरहेका छन् । साँच्चै यस्ता सक्षम युवाहरू स्वतन्त्र रूपमा राजनीतिमा हाबी हुन सके निश्चित क्षेत्रले केही काँचुली फेर्थ्यो पनि होला सायद । स्वतन्त्र युवाहरूले मेयरको पदमा बहुमत ल्याउन सके पार्टीगत लेनदेनबाट मुक्त हुन सक्थे र स्वतन्त्र रूपमा काम गर्न सक्थे पनि ।

विकास, समृद्धि, सुशासन र परिवर्तन हुनको लागि पहिला नेतृत्व आफैँ परिवर्तन हुन पर्दैन र ? कुनै केश स्टडी, अनुसन्धान नै नगरी चुनावी मुखमा आएर वर्षौँदेखि तिनै वासी नाराहरू सोझा नागरिकहरूलाई असरल्ल तत्काल असम्भव देखिएका मोनोरेल, मेट्रोरेल, समान शिक्षा, निःशुल्क स्वास्थ्य, रोजगार जस्ता सपनाहरू बाँडेर, छरेर, भजाएर आफ्नो पार्टीको हालीमुहाली बनाउने राजनीति कहिलेसम्म चलिरहला देशमा ।

सामाजिक सञ्जालमा देखिएका सकारात्मक कमेन्ट, सडकमा देखिएको भिड, स्वतन्त्र युवाहरूको पक्ष बनेर ब्यालेटमा खस्न सके साँच्चिकै केही परिवर्तन पो हुन्थ्यो कि कतै । तर विडम्बना त्यही पुरानै पार्टी र पुरानै इतिहास दोहोरिने छ फेरि पनि र पुरानै अनुहारहरू भेटिनेछन् फेरि त्यही महलमा । राजनीति फोहोरी खेल होइन तर, फोहोरी नै बनाइरहन्छन् पुरानाहरूले ।

सक्षम र चेतनाको परिधि फराकिलो बनाएका शिक्षित लाखौँ युवाहरू देश बाहिरै  छन् यतिबेला पनि।राज्यले तिनीहरूलाई मताधिकारबाट वञ्चित गरेको छ वर्षौँ देखि न त यिनीहरूको मत निर्णायक मत हुन सक्छ भनेर नै कहिल्यै सोचेर कदम चालेको छ राज्यले । देश दुनियाँको राजनीति र विकास नजिकैबाट अध्ययन गरिरहेका लाखौँ सक्षम युवाहरूको मताधिकार कुण्ठित भएको छ वर्षौँदेखि । अर्कातिर सीमित मतदाताबाट खसेको मतलाई नै निर्णायक मत मान्दै चुनाव गरिरहन्छ राज्य पटक पटक ।

देशको कुल जनसङ्ख्याको शिक्षित र सक्षम भनिएका युवाहरूको ठूलो हिस्सालाई मताधिकारबाट वञ्चित गराई गरिएको चुनावको विविध परिणामले के साँच्चिकै आम नेपाली युवाहरूको न्यायिक प्रतिनिधित्व गर्न सक्ला र ? विदेशमा रहेका युवाहरूको वर्षौँदेखि मतदान गर्ने अधिकार छैन । देशमै रहेका कैयौँ युवाहरूलाई राजनीतिमा खासै चासो छैन र मतदान नगरी तटस्थ बस्छन्, बालकहरूले भोट हाल्नै मिल्दैन जो सडकमा नारा र जुलुसको भिडमा देखिन्छन् । वृद्धहरूको सही र गलत छुट्टाउने क्षमता नहोला या भत्ताको लोभमा त कोही पुस्ते पार्टीको सम्मान गर्दै मतदान गर्लान् । अब भन्नुस् के यी र यस्ता चुनावी मत परिणामबाट आम नागरिक वा युवाहरूले के आशा राख्ने त भोलिका दिनमा ?

विकास, समृद्धि, सुशासन र परिवर्तन हुनको लागि पहिला नेतृत्व आफैँ परिवर्तन हुन पर्दैन र ? कुनै केश स्टडी, अनुसन्धान नै नगरी चुनावी मुखमा आएर वर्षौँदेखि तिनै वासी नाराहरू सोझा नागरिकहरूलाई असरल्ल तत्काल असम्भव देखिएका मोनोरेल, मेट्रोरेल, समान शिक्षा, निःशुल्क स्वास्थ्य, रोजगार जस्ता सपनाहरू बाँडेर, छरेर, भजाएर आफ्नो पार्टीको हालीमुहाली बनाउने राजनीति कहिलेसम्म चलिरहला देशमा ।

फुर्सदिला र बेरोजगार युवाहरूको काँधमा चढेर कानमा मिसाइल खन्याउँदै बेहोसी बनाउँदै एकोहोरो बनाई मत लुट्नु न्यायिक हुन सक्ला र ? पङ्तिकार जून देशमा छ यहाँ पनि चुनाव हुन्छ, मतदान हुन्छ । नेताहरू सडकमा केही माइकिङ गरिरहेका देखिन्छन् पनि तर, हाम्रोमा जस्ता फगत कार्यकर्ताको बोझिलो र खर्चिलो भिड यहाँ कतै पनि देखिन्न न दर्शकहरूले कान थापेर सुन्दै ताली मारिरहेका भेटिन्छन्- सिर्फ दुई-चार जना मानिसमात्रै उसको साथमा हुन्छन् भाषण सुन्ने र हेर्ने कसैलाई फुर्सद छैन यहाँ । अरू त कुरै नगरौँ- बहुसङ्ख्यक नागरिकहरूलाई आफ्नो नगरपालिका क्षेत्रको नेताको नामसमेत थाहा छैन भन्छन् जान्न आवश्यक पनि ठान्दैनन् । सबै सिस्टममा चलिरहेकै छ, कानुनको पूर्ण पालना भएकै छ । न चुनावमा खसी ढालिन्छ यहाँ न गाउँ गाउँबाट कार्यकर्ताको भिड ओसारी मास कलेक्सन गरिन्छ न त सत्तो सराप गरिन्छ विपक्षी दलहरूको । न त पार्टीको झण्डा बोक्दा गाउँ घर टोल समाजमा ध्वनि प्रदूषण गर्दै दौडन्छन् पनि । नागरिक सभ्य र विवेकशील छ चिनेर मतदान गर्छन् ।

संसारकै विकसित देशमा अध्ययन अनुसन्धान र रहँदै बस्दै गर्दा देखेका सुनेका र अध्ययन गरेका विषयवस्तुहरू समेटिएको चोखो र स्वतन्त्र मताधिकारले नै अबको दुनियाँमा फट्को मार्थ्यो स्वतन्त्र रूपमा बालेन शाहहरू जस्ता सक्षम र स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित हुनेथियो ।

यतिबेला चुनावी रन्कोले देश तातेको छ, दाजुभाइ लडेका छन् एक आपसमा मेरो पार्टी तेरो पार्टी भनाभन चलेको छ गाउँघर, टोल-छिमेकमा, पानी बाराबार बनेको छ । पार्टी पार्टीमा दुरी बढ्दै छ, पार्टीमा उम्मेदवार बनेकाहरूले केही खर्च गरिरहेका पनि छन् । ठूलो भिड जम्मा पारि नारा जुलुस चलाइरहेका छन् । कहिलेकाहीँ त हेर्दा लाग्छ- अशिक्षित युवाहरू पनि केही पदहरूमा उम्मेदवार देखिन्छन् जसलाई पहिलो त आफू को हुँ थाहा पनि छैन ? राजनीतिको अर्थ के हो ? पार्टीको सिद्धान्त र विधान कस्तो छ थाहा पत्तो केही छैनन् । आफ्नो समाजको संरचना, यदि विजयी बने भने त्यहाँको समाज र नागरिकहरूप्रति मेरो दायित्व के हुने हो ? समाज परिवर्तन गर्न सक्ने भिजन के छ र के का लागि राजनीतिमा आएको हुँ केही केही थाहा पत्तो छैन र भिजन पनि शून्य छ, यिनै कुराहरू देख्दा कहिलेकाहीँ कठै मेरो देशका राजनैतिक दल र तिनका नेता भन्न मन लाग्छ । जून जोगी आए पनि कानै चिरेको एकाधबाहेक, अनि कसरी हुन्छ देश विकाश कसरी सम्भव छ परिवर्तन ।

एउटा कुरा यो पनि हो हामी नेपालीहरू (सबै होइनौँ) विश्वको जुनसुकै देशमा रहे/बसेता पनि हामीले आफ्नो सोच परिवर्तन गर्न सकेका छैनौँ । एकाथरि हँसिया हथौडा बोकेर नै आएका छौँ, कोही रुख त कोही सूर्य लिएर आएका छौँ । यो सोचलाई हामीले कहिल्यै त्याग्न सकेनौँ जहाँ रहे पनि ।

यो मेरो नितान्त व्यक्तिगत धारणा हो, यदि राज्यले विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई मतदान गर्ने हक दिलाउन सक्छ भने त्यहाँ साँच्चै कसैको डर त्रास र आस नभै चुनावको चोखो र स्वतन्त्र परिणाम आउँथ्यो नै । संसारकै विकसित देशमा अध्ययन अनुसन्धान र रहँदै बस्दै गर्दा देखेका सुनेका र अध्ययन गरेका विषयवस्तुहरू समेटिएको चोखो र स्वतन्त्र मताधिकारले नै अबको दुनियाँमा फट्को मार्थ्यो स्वतन्त्र रूपमा बालेन शाहहरू जस्ता सक्षम र स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित हुनेथियो ।

अन्त्यमा ए, सरकार हामीबाटै लिएको रेमिट्यान्सले देशको केही अर्थतन्त्र थेगेको छ भनिरहन्छस् भने हाम्रो मतदान गर्ने नागरिक अधिकारलाई पनि सुनिश्चित गरिदे ! लाखौँ शिक्षित युवाहरू आफ्नो प्रतिनिधि छान्नबाट वर्षौँदेखि वञ्चित छ । नोट चलेकै छ देशमा भोट किन चल्न सकेन ।

तपाईको प्रतिक्रिया