काठमाडौं – इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले मंगलबार राति च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियाल मड्रिडमाथि ४–३ को रोमाञ्चक विजय हासिल गरेको छ । यससँगै सिटीलाई अब दोस्रो लेगमा कम्तिमा बराबरी गर्नुपर्ने भएको छ ।
सिटीले घरेलु मैदान इत्तिहाद रंगशालामा सुरुमै दुई शून्यको अग्रता लिएको थियो । रियाद महारेजको क्रसलाई केभिन डी ब्रुयनाले हेडमार्फत गरेको गोलबाट सिटीले दोस्रो मिनेटमै अग्रता लिएको थियो । डी बुयनाको पासमा गाब्रियल जिससले ११औं मिनेटमा अग्रता दोब्बर बनाए ।
करिम बेन्जेमाले ३३औं मिनेटमा गरेको गोलबाट रियाले पुनरागमनको प्रयास गरेको थियो । ५३औं मिनेटमा सिटीका फिल फोडानले तेस्रो गोल थपे । त्यसको दुई मिनेट नवित्दै रियालका भिनिसियस जुनियरले गोल फर्काए । ७४औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले चौथो गोल थपे । खेल सकिन आठ मिनेट बाँकी हुँदा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै अन्तर कम गरे ।
‘‘सबैभन्दा महत्वपूर्ण कुरा हामी कहिल्यौं हार मान्दैनौं,’’ रियालका फरवार्ड बेन्जेमाले भने, ‘‘हामीले अन्तिम समयसम्म लड्यौं ।’’
बेन्जेमाले यसअघिका दुई नकआउट खेलमा लगातार दुई ह्याट्रिक गरेका थिए । यससँगै च्याम्पियन्स लिगको जारी सिजन बेन्जेमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनिसकेका छन् । बेन्जेमाले १४ गोल गरिसकेका छन् । दोस्रो स्थानमा बायर्न म्युनिखका रोबर्ट लेवनडोवस्की छन् । बायर्न जारी सिजन अन्तिम–१६ बाटै बाहिरिसकेको छ । उच्च लयमा रहेका बेन्जेमाले जारी सिजन सबैखाले प्रतियोगितामा गरी ४१ गोल गरिसकेका छन् ।
‘‘मड्रिड भनेको मड्रिड हो,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘उनीहरुविरुद्ध दुई, तीन गोलले अग्रता लिए पनि केही फरक हुँदैन ।’’
सिटी लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन चाहन्छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ । सिटी गत सिजन प्रिमियर लिगकै क्लब चेल्सीसँग १–० ले पराजित भएपछि उपाधिबाट बञ्चित भएको थियो । रियाल मड्रिड भने कीर्तिमानी १४औं च्याम्पियन्स लिग लिग उपाधि जित्ने अभियानमा छ ।
‘‘पक्कै पनि यो धेरै रोमाञ्चक खेल रह्यो । रियालको प्रशिक्षकका रुपमा हामीले गरेको तीन एकदम महत्वपूर्ण छ । हाम्रो रक्षापंक्तिले अपेक्षकृत प्रदर्शन गर्न सकेनन् । सुरुमै तीन गोल खायौं । त्यसपछि हामीले गोल फर्काउन सफल भयौं,’’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘अब हामी बेर्नाबेउमा खेल्नेछौं । आशा छ हामी फाइनलमा पुग्नेछौं । त्यसका लागि हामीले जादुमयी प्रदर्शन गर्न आवश्यक छ । आज हामीले जुन प्रदर्शन गर्यौं । योभन्दा धेरै राम्रो खेल्नुपर्छ ।’’