मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

टोकियो – कुनै पनि देशमा विदेशी नागरिकमाथि निगरानी राख्नु र सोधपुछ गर्नु असामान्य होइन । जापान हरेक हिसाबले सुरक्षित देश मानिन्छ । यहाँको शान्ति सुरक्षाकाको अवस्था मजबुत हुँदा प्रायः आपराधिक घटना कम हुने गरेका छन् ।

यहिबीच एउटा सर्वेक्षणले भने जापानमा विदेशी मूलका नागरिकमाथि अस्वाभाविक सोधपुछ हुने गरेको देखाएको छ । विदेशी मूलका झन्डै ६३ प्रतिशत मानिसहरूलाई प्रहरीले सोधपुछ गरेको पाइएको हो । टोकियो बार एसोसिएसनले जातीय प्रोफाइलिङ सम्बन्धी हालै गरेको सर्वेक्षणले विगत ५ वर्षमा कुल ६२ दशमलव ९ प्रतिशत मानिसहरू प्रहरीको सोधपुछमा परेको देखाएको छ ।

पाँच वर्षमा प्रहरीले सोधपुछ गरेका मानिसहरूमध्ये ५० दशमलव ४ प्रतिशतले दुईदेखि पाँच पटकसम्म रोकिएको थियो । १० दशमलव ८ प्रतिशत ६ देखि ९ पटकसम्म सोधपुछमा परेको देखाएको छ भने ११ दशमलव ५ प्रतिशतलाई १० वा सो भन्दा धेरै पटक सोधपुछमा गरेको पाइएको हो । एसोसिएसनले सर्वेक्षण जनवरी ११ देखि फेबुरअरी २८ को बीचमा गरेको थियो ।

बहुउत्तर मागेर सोधिएको प्रश्नमा सहभागीमध्ये ७० दशमलव ३ प्रतिशतले आफूलाई प्रहरीको सोधपुछले अप्ठ्यारो भएको बताएका थिए । ८५ दशमलव ४ प्रतिशतले विदेशी मूलको भएको महसुस गरेपछि प्रहरीले सोधपुछ गरेका बताएको उल्लेख छ । प्रहरी अधिकारीहरूले आफ्नो रूप रङ्ग देखेर त्यस्तो व्यवहार गरेको हुन सक्ने अधिकांशको धारणा छ ।

असामान्य गतिविधि वा अपराध गरेको आशङ्का लागेमा जापानी कानुनले प्रहरीलाई सोधपुछको अनुमति दिएको छ । तर सहभागीमध्ये ७६ दशमलव ९ प्रतिशतले भने आफूलाई बिना कारण सोधपुछ गरेको बताएका छन् । विदेशी मूलका कयौँ मानिसहरूलाई उनीहरूको बाहिरी रूप हेरेर प्रहरीले सोधपुछ गर्ने गरेको गुनासोहरू आएपछि एसोसिएसन उक्त सर्वेक्षण गरेको थियो ।

तपाईको प्रतिक्रिया