शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – मध्यपश्चिमको दुर्गम पहाडी गाउँ। स्वास्थ्य सेवाको पहुँच नपुगेको र नेपाली चिकित्सक जान हिच्किचाउने ठाउँ। अर्थात् माओवादी जनयुद्वको उद्गमथलो थबाङ। रोल्पाको थबाङमा एक दशकभन्दा लामो समयदेखि स्वयंसेवा गरिरहेका जापानी चिकित्सक हुन्–डा. रियुचिकी इशिदा।

उनको नेपाल प्रेम पुरानै हो। सन् १९६८ मा २० वर्षको लक्का जवान हुँदा एक जापानी डाक्टर पहिलो पटक नेपाल घुम्न आएका थिए। त्यसवेला उनी विद्यार्थी स्वयंसेवकको हैसियतमा क्षयरोग विरूद्धको खोप कार्यक्रममा नेपालको विभिन्न गाउँमा सहभागी भए। पोखराबाट कालीको किनारै किनार बेनी, बागलुङ भएर तानसेनसम्म हिँडेका थिए। युनाइटेड मिसन हस्पिटलको खोप कार्यक्रममा ५ दिन लगातार हिँडेका थिए।

१६ वर्षअघि सन् २००६ मा पनि रूकुमको चौरजहारीदेखि रोल्पाको घोरनेटिसम्म स्वास्थ्य सेवाका लागि हिँडेरै पुगे। सन् २००८ मा जुम्ला पनि पुगे र सन् २०११ मा थबाङ टेके। नेपालका कुना कन्दरामा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई नजिकबाट नियाले, घुलमिल भए। नेपालीको सरल जीवनशैली, सहनशील स्वाभाव र आत्मीय बानीले उनको मन छोयो।

पहिलोपटक किशोर उमेरमा आउँदै उनले निर्णय गरेका थिए, भविश्यमा फर्केर म गाउँलेको सेवामा आउनेछु।

‘त्यस बेला मैले गाउँका मानिसलाई फर्केर स्वास्थ्य सेवामा समर्पित हुने वाचा गरेको थिएँ,’ मन्द मुस्कुराउँदै उनले सेतोपाटीसँग आफ्ना विगत सम्झिए।

विगत एक दशकदेखि जलजला अस्पताल तथा अनुसन्धान केन्द्र, थबाङमा सक्रिय छन्। थबाङबासी उनलाई मेडिकल मसिहाका रूपमा सम्मान गर्छन्।

उमेरले ७४ वर्ष टेकेका इशिदा थबाङको स्वास्थ्य

सन् १९९३ मा श्रीमती र छोरीसहित डाक्टर इसिदा जापानमा

सेवामा समर्पित भएको विगत एक दशक बढि समय भैसक्यो। वर्षका केही महिना उनी मातृभूमि जापान जान्छन्। परिवार भेटेर फेरि रोल्पा फर्कन्छन्।

गत वर्ष कोभिड महामारीका बीचमा श्रीमतिसहित नेपाल आएका थिए। करिब २ महिनाजति थबाङमा बसेर श्रीमति पुर्‍याउन जापान गएर एक्लै फर्किए।

दुर्गम गाउँ थबाङमा उनले आफ्ना छोराछोरीलाई पनि घुमाइसकेका छन्। ‘म कस्तो ठाउँमा बस्छु, के खान्छु र के गर्छु भन्ने देखाएँ’, उनीहरूलाई घुमाउनुको कारण उनले सुनाए।

थबाङप्रतिको उनको अगाध लगाबप्रति परिवारको मौन समर्थन छ तर बुढ्यौलीले गाँजिसकेकाले उनीहरू सँगै बस्न पाए हुन्थ्यो भन्छन्।

विकशित देश जापानमा जन्मेर पनि थबाङप्रतिको उनले देखाएको मायाले सबैलाई अचम्मित बनाउँछ। गाउँलेको सेवामा उनको योगदान अनुकरणीय छ। अझ भनौं, आधुनिक जीवनशैली सिको गर्दै हामी गाउँ छाडेर सहर पस्छौं, पढेलेखेका विद्वानहरू त झन तेस्रो देशतिर पलायान हुने क्रम दिनानुदिन बढिरहेको छ। तर डाक्टर इशिदाको तन र मन थबाङमै छ।

उनको कामको कदर हुन थालेको छ। गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले उनको कामको कदर गर्दै ‘समासेवा श्री पदक ‘ख’ बाट विभुषित गरेको छ।

पदक पाउँदा उनले प्रफुल्ल हुँदै भनेका थिए, ‘सर्वप्रथम म थबाङ गाउँपालिका र जनताले गरेको सहयोगप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु, जस बिना यो पुरस्कार सम्भव थिएन।’

पदक पाउँदा भावुक हुँदै उनले थबाङी र स्वास्थ्यकर्मी सहिद लाली रोका मगरलाई सम्झिएका थिए।

‘सुरूसुरूमा उहाँ १२ घण्टा विरामीको सेवामा खट्नुहुन्थ्यो,’ थबाङका स्वास्थ्य ईन्चार्ज राजकुमार बुढाले भने, ‘आपतकालीन विरामीको सेवा रातदिन खट्नु हुन्थ्यो। अचेल भने जटिल बिरामीबाहेक अरूका लागि हामी दुःख दिँदैनौं।’

पोहोर श्रीमतीसँगै थबाङ पुग्दा भावुक बनेका थिए। श्रीमतीलाई इशिदाले आफ्नो जीवनका अन्तिम दिनको महत्वपूर्ण कुरा बताएका थिए।

‘मेरो मृत्युपछि म थबाङको डाँडामा आराम गर्न चाहान्छु,’ उनले थबाङ पारी शहिद पार्क देखाउँदै श्रीमतीलाई भनेका थिए, ‘त्यहाँ सहिदहरूसँग मेरो पार्थिव शरीरको अन्तेष्टि होस् भन्ने चाहना छ।’

_(सेतोपातीबाट साभार गरिएको)

तपाईको प्रतिक्रिया