शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – केही समयदेखि चर्चामा भए पनि नेपाली नर्सलाई रोजगारीका लागि बेलायत लाने विषयले अहिलेसम्म औपचारिकता पाएको छैन । केही महिना अघि मात्रै नेपाली नर्सलाई बेलायतले रोजगारीका लागि लाने बताएको सरकारले अहिलेसम्म औपचारिक प्रक्रिया अगाडि बढाउन नसकेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अब एक महिनाभित्र नेपाल र बेलायत सरकारबीच नर्स लैजाने विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिए । घिमिरेका अनुसार अहिले सहमतिपत्र तयार भएको छ । केही दिनपछि उक्त पत्रमा दुवै देशले हस्ताक्षर गर्ने उनको भनाइ छ । त्यसपछि मात्र नेपाली नर्स रोजगारीको लागि बेलायत जाने बाटो खुल्नेछ ।

पहिले दुई हजार नर्सलाई बेलायत पठाउने तयारी भइरहको मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’मा नर्सलाई बेलायत पठाउने तयारी गरेको छ । यसमा निजी क्षेत्रको संलग्नता नरहेको घिमिरे बताउँछन् । वैदेशिक रोजगारका लागि सिधै सरकार-सरकार (जिटुजी( संयन्त्रमार्फत शून्य लागतमा नेपाली पठाउन लगिएको यो पहिलो पटक हो ।

मुख्यसचिव सोमलाल सुवेदीले नेपालबाट विदेशमा नर्स पठाउँदा विदेशी ज्ञान र सीपको विकास हुने भए पनि नेपालमा नर्सको वर्तमान अवस्था बुझेर मात्र निर्णय लिनुपर्ने बताए । ‘विदेशमा गएर नेपाली ज्ञान प्रदर्शन गरेर रकम आर्जन हुन्छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर यसरी नर्स पठाउँदा नेपालमा नै जनशक्ति अभाव हुने अवस्था आयो भने यो राम्रो हुँदैन,’ उनले भने ।

सरकारले नेपालमा रहेका नर्सको वास्तविक तथ्याङ्क पहिचान गरेर मात्र विदेशमा नर्स पठाउने वा नपठाउने तय गर्नुपर्ने उनको भनाइ छ । ‘नेपालमा नर्सको सङ्ख्या कति छ रु कस्ता कस्ता नर्सले सेवा दिइराखेका छन् ? हामीले विदेश पठाउँदा कसलाई पठाउने हो ? भन्ने कुराको पहिचान गरेर मात्र नर्सलाई पठाउने कुराको निक्र्यौल गर्नुपर्छ,’ सुवेदीले भने । ‘नेपालमा अध्ययन गरेर पासआउट भएका नर्स नेपालमै टिकाउने गरी सरकारले वातावरण सिर्जना गर्न आवश्यक छ । अहिलेको जस्तो अवस्था भइराख्ने हो भने नर्स विदेश पलायन हुने क्रम बढ्छ । यसले नेपालमा नर्सको अभाव सिर्जना हुन्छ ।’

तपाईको प्रतिक्रिया