जनकपुर – जनकपुर–जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ ।
भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ । नेपाल रेल्वे कम्पनीका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार नेपाल–भारत सीमाको जयनगरमा सजाएर राखिएको रेललाई शनिबार मध्याह्न १२:१५ बजे दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाउने कार्यक्रम तय छ ।
धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्मको १७ किलोमिटर खण्डको रेल्वे ट्रयाक निर्माणको काम लगभग सकिएको छ । भंगहादेखि बर्दिवाससम्मको काम आगामी महिनादेखि सुरु हुने कम्पनीले जनाएको छ ।
जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर खण्डमा भारत सरकारले ब्रोडगेज रेल्वे लिंक, स्टेसन, प्लेटफर्म बनाइदिएको थियो । नेपाल सरकारले त्यो खण्डमा चलाउन करिब ८६ करोड रुपैयाँमा दुई सेट आधुनिक रेल खरिद गरेर ल्याएको वर्ष दिनभन्दा बढी भइसकेको छ । हैदराबाद हाउसमा हुने रेलको औपचारिक उद्घाटनको प्रत्यक्ष दृश्य नेपालतर्फ जनकपुरस्थित रेल्वेको प्लेटफर्ममा र भारततर्फ जयनगर स्टेसनमा देखाइने छ । त्यसका लागि दुवै प्लेटफर्ममा तयारी छ । जनकपुरको प्लेटफर्ममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पनि उपस्थिति रहनेछ ।
रेलको औपचारिक उद्घाटनअघि प्राविधिकहरू रेल्वेको लिंक र रेलको दुवै बोगीको भौतिक र प्राविधिक पक्षलाई दुरुस्त बनाउन खटिएका छन् । शुक्रबार बिहानैदेखि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ, लिंकको अवरोध हटाउने र स्टेसनहरूलाई चिटिक्क पारिएको छ ।
भारतीय रेलका उच्च अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मासहितको टोली शनिबार जयनगर पुग्दै छ । ‘कुर्थातर्फ आउने रेलमा हरेक स्टेसन र हल्टबाट प्रतिनिधिमूलक यात्रु रेल चढ्ने छन्,’ महानिर्देशक भट्टराईले भने, ‘कुर्थाबाट जनकपुर फर्किंदा रेलमा सवार अतिथि जनकपुर हल्टमा ओर्लिने छन् ।’ जनकपुर हल्टमा रेल सेवा आरम्भ भएपछि औपचारिक समारोहको आयोजना गरिएको उनले बताए । सभालाई भौतिकमन्त्री यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायतले सम्बोधन गर्नेछन् ।
रेल सेवा उद्घाटन हुने भएपछि शुक्रबार जयनगर–कुर्था रेल सेवाका लागि तयार भौतिक संरचना, लिंक, स्टेसन र हल्ट सरसफाइ गर्दै लिक राखिएको स्लिपर, ज्वाइन्ट, ब्लास्ट डिफिसेन्सी समाधान, सिग्नल जाँच गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । जयनगरदेखि कुर्थासम्म राखिएको ५ वटा स्टेसनमा रेलको लोकेसन र अवस्था बुझ्न लिकमा जडान गरिएको एक्जल काउन्ट (रेलको चक्का गणना गर्ने डिभाइस), ट्रेक सर्किट, रेलको आन्तरिक सञ्चार (टेलिफोन) सुचारु गरी स्टेसनबाट सिग्नल कन्ट्रोल सुरु गरिएको रेल्वे विभागका टेलिकम इन्जिनियर रवीन्द्र साहले बताए ।
अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै चेकजाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । शनिबार उद्घाटन भएपछि आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा रेल चल्नेछ । महाप्रबन्धक झाका अनुसार बिहान पहिलो रेल जयनगरबाट कुर्था ८:३० बजे आउने छ ।
उक्त रेल कुर्थाबाट १०:३० बजे जयनगर फर्किनेछ । दोस्रो पटक रेल दिउँसो ३ बजे जयनगरबाट कुर्था र ५:३० बजे फर्कनेछ । ३५ किलोमिटर दूरीमा कुर्था, बैदेही, खजुरी, इनर्वा र जयनगर गरी ५ स्टेसन तथा जनकपुर, परवाहा र महिनाथपुरमा हल्ट राखिएको छ । हल्टमा यात्रु चढ्ने र ओर्लिने छन् भने स्टेसनमा मालसामान लोड/अनलोड हुनेछन् । रेलको प्राविधिक पक्ष दुरुस्त राख्न कम्पनीले फागुन १ देखि परीक्षणका रूपमा दैनिक ड्राइ रन गराउँदै आएको थियो । दैनिक रेल सञ्चालनले आर्थिक भार थपिएपछि एक दिनको अन्तरालमा चैतमा ड्राइ रन भइरहेको थियो । –कान्तिपुर दैनिकबाट