काठमाडौं – पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले आफ्नै घरेलु मैदानमा गुमाएको छ । पपुवा न्युगिनीले शनिबार भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको हो । योसँगै सिरिज नेपालले २–० ले गुमाउन पुग्यो । त्रिवि मैदानमा नेपालले २ सय ७८ रन बनाएर सशक्त ब्याटिङ रहेको पुष्टि गर्यो । तर, यो ठूलो लक्ष्य पाहुना टिम पपुवा न्युगिनीले ७ विकेट गुमाएर भेटाउँदा नेपालले सिरिज बराबरी गर्न सकेन ।
नेपालको बलिङ जम्न सकेन । नेपाली बलरविरुद्ध पपुवा न्युगिनीका ओपनर ब्याटर लेगा सियाकाले शानदार ब्याटिङ पस्कनु नै हारको कारण बन्यो । उनले १ सय २ बलको सामना गरेर ९० रनको योगदान दिए । उनको विजयी प्रदर्शनमा १२ चौका र १ छक्का पनि सामेल थिए ।
सियाका एकदिवसीय करियरको दोस्रो शतक हान्ने तरखरमा रहँदा आउट भएका थिए । उनलाई पवन शर्राफले क्लिन बोल्ड गर्दा नेपालको लागि राहत मिलेको पनि थियो । तर, मध्यक्रमका ब्याटर रिले हेल्कुरेले नेपाललाई खेलमा फर्कनै दिएनन् । नटआउट रहँदै ४८ रन बनाएर हेल्कुरेले नेपालको लागि हार निर्धारित गरिदिएका थिए ।