मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडाैं – चीनले आफू युक्रेन संकटको पक्ष नरहेको बताएको छ । स्पेनी समकक्षी होजे म्यानुएन एलबरेससँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन युक्रेन संकटको पक्ष नभएको र रुसमाथिको प्रतिबन्धबाट प्रभावित हुन नचाहेको बताएका हुन् ।

चीनले सैद्धान्तिक रूपमा प्रतिबन्धहरू अस्वीकार गर्ने र ‘आफ्नो वैध अधिकार र हितको रक्षा गर्ने अधिकार’ रहेको उनको भनाइ छ । उनले युक्रेन द्वन्द्वलाई वर्षौँदेखि युरोपेली सुरक्षा विरोधाभासहरूको संकलन र तीव्रताको उपज भनेका छन् ।

स्पेनी विदेशमन्त्री अलबरेसले ट्वटि गर्दै चिनियाँ समकक्षीसँग युक्रेन युद्धको परिणाम र यसलाई अन्त्य गर्ने उपायको बारेमा कुराकानी गरेको बताएका छन् । रुसलाई सैन्य र आर्थिक सहयोग नगर्न चीनमाथि दबाब परिरहेका बेला दुई नेताबीच कुराकानी भएको हो ।

रुसले चीनसँग आर्थिक र सैन्य सहयोग मागेको अमेरिकी दाबी छ भने चीनले यस दाबीलाई मिथ्या भन्दै अस्वीकार गरेको छ । रुसले पनि चीनको सहयोग आवश्यक नरहेको भन्दै अमेरिकी आरोप अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया