बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापान सरकारले सीमा प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ । आजदेखि व्यवसायी, विद्यार्थी र कामदारहरूका लागि सीमा प्रतिबन्धहरूलाई थप खुकुलो बनाइएको हो ।

यसअघि ३५ सयलाई दैनिक प्रवेश दिँदै आएको जापानले अब ५ हजारलाई नयाँ प्रवेश गर्ने अनुमति दिन थालेको छ । जापानी र विदेशी दुवै नागरिकहरूको लागि क्वारेन्टाइन अवधि घटाइएको छ । अस्ट्रेलिया, स्पेन, थाइल्याण्ड, फिलिपिन्स र संयुक्त राज्य अमेरिका जस्ता देशहरूबाट जापान आइपुगेपछि कोरोना रिपोर्ट नेगेटिभ आउनेहरूको लागि तीन दिनको क्वारेनटाइन अवधि हटाइएको छ ।

नेपाल, बेलायत, इजिप्ट, फ्रान्स, जर्मनी, इटाली, स्विडेन, डेनमार्क, नर्वे, पाकिस्तान र उज्बेकिस्तानका यात्रुहरूका लागि क्वारेनटाइन अवधि ६ दिनबाट घटाएर तीन दिन बनाइएको छ । नयाँ नियमानुसार नेपालबाट जापान आएको तेस्रो दिनमा पीसीआर परीक्षण गरिनेछ, रिपोर्ट नेगेटिभ आएमा घर जान पाइने र अर्को ४ दिन होम क्वारेनटाइन बसे पुग्नेछ ।

अध्यागमन सेवा एजेन्सीका अनुसार जनवरी ४ सम्म ४ लाख ७ हजारभन्दा बढी जापान प्रवेशको भिसाका लागि योग्य भएर पनि सीमा नियन्त्रणमा गरिएको कडाइसँगै प्रवेश गर्न असमर्थ भएका थिए । यी मध्य मध्ये १,५२,९०० विद्यार्थी रहेका छन् ।

गत नोभेम्बरमा, सरकारले केही विद्यार्थी तथा व्यापारीहरूलाई प्रवेश गर्न अनुमति दिनका लागि नियमहरूलाई सामान्य खुकुलो पारेको थियो तर कोरोना भाइरसको नयाँ विकसित ओमिक्रोन नामक भेरिएन्टका कारण तत्काल यस योजनालाई उल्ट्याएको थियो ।

तपाईको प्रतिक्रिया