बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – अब जापानबाटै विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने भएको छ । राहदानी विभागले शुक्रबार जापानको टोकियोस्थित नेपाली दूतावासबाट ई-पासपोर्ट उत्पादनको सफल परीक्षण गरेको हो ।

टोकियोस्थित दूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै जापानबाटै नेपालीले राहदानी पाइने भएको छ । परीक्षण सफल भएसँगै दूतावासले ई-पासपोर्टका लागि शुक्रबारदेखि नै बुकिङ खुला भएको जनाएको छ । राहदानी विभागले विभाग र विदेशस्थित विभिन्न नेपाली नियोगहरूको बिचमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

सो अवसरमा विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी जारी गर्ने प्रक्रियाका बारेमा जानकारी गराउँदै नियोगहरूलाई आवश्यक निर्देशन दिएका थिए ।

प्रि-इनरोलमेन्टका लागि राहदानी विभाग वा राजदूतावासको वेभसाइटमा राखिएको लिङ्कमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ । विद्युतीय राहदानी शुरु भएको प्रारम्भिक चरणमा केही दिनका लागि सीमित बुकिङ मात्र खुला गरिएको दूतावासले जनाएको छ ।

उक्त अवधिभर हालको राहदानी हराएका, राहदानी र भिसाको बहाल अवधि समाप्त भएका वा तीन महिनासम्मको अवधि बाँकी रहेका व्यक्तिले प्रि-इनरोलमेन्ट गरी समय बुकिङ गरेर लाइभ इनरोलमेन्टका लागि राजदूतावासमा आउन आग्रह गरिएको छ ।

हेर्नुहोस् प्रि-इनरोलमेन्टको प्रक्रिया र थप जानकारी :-

तपाईको प्रतिक्रिया