मनोज ! मेरो बाल्यकालको साथी हामीसँगै हुर्कियौ, सँगै खेल्यौ र सँगै जागिर पनि गर्यौ । बहुत मिलनसार र मेहनती थियो । जीवन जसोतसो चलेको थियो ।समाजमा थोर बहुतले चिन्थे पनि । पेसा वकालत गर्थ्यो ऊ । खुसीले रङ्गिएकै थियो उसको सानो परिवार । जीवन जितेकै थियो स्वदेशमै पनि । पोहोर साल अस्ट्रेलियाको दुवैको भिसा आयो परिवारमा खुसीको माहौल छायो सबैजना आफन्तीहरु भेला भए बडो धूमधामसाथ पार्टीको आयोजना गरियो लड्डु बाँडियो खादा माला पहिरियो रमाइलोसँग अनि देश छोड्यो त्यही दिनबाट ।
उसका समाजका सबैजना परदेशतिरै थिए कोही डिभी भरेर अमेरिका पलायन भएका थिए त कोही विद्यार्थी भिसामा सम्पन्न मुलुक छिरी उतै ग्रिनकार्ड, पिआर, एज्यू लिने सोचमा थिए समग्रमा भनौँ देशबाट पलायन हुने रहरमा देखिन्थे ।
विवशता, बाध्यता, रहर या देखासिकी यही संस्कार चलिरहेछ देशमा, सक्षम युवाहरू दिनदिनै रित्तिइरहेका छन् । सरकारहरू युवा विदेश रोजगारमा पठाउने होडबाजी गर्दै कार्यनीति बनाउँदै हिँड्छन्, कहिले कोरियामा नेपाली कामदार पठाउने, कहिले इजरायलमा हङकङमा यस्तै दुवै मलेसिया कतार ओमन थुप्रै मुलुकहरूमा पनि । प्रकृतिले सर्वगुण सम्पन्न मुलुक, इतिहासमा अन्य देशहरूलाई सहयोग प्रदान गरेको देश आज २१औँ शताब्दीमा आइपुग्दा पनि किन दुई छाक अघाउन दुनियाँसामु आफ्नो स्वाभिमान बन्धकी राख्दै हात थापिरहेछ ।
यो फरक समय हो, यो आर्टिफिसियल ईन्टेलिजेन्सको शताब्दी हो, पृथ्वीमा बसेर चन्द्रमाको यान टाल्ने यो युगमा आइसक्दा पनि हामी भने सधैँ पछि परिरहेछौ अनि पेटकै लागि जीवन चलाइरहेछौ । देशले भनौँ या देशका नेतृत्वले सक्षम युवा जनशक्तिलाई देशमा रोजगार दिन नसक्दा या उचित बौद्धिकताको देशभित्रै परिचालन गराउन नसक्दा या भनौँ सम्मान नहुँदा विकसित मुलुकहरूमा युवा ब्रेन ड्रेन भइरहेका छन् यसको परिणाम देश दिनानुदिन नाङ्गिँदै गइरहेको छ ।
हेर्नुस् त हाम्रै युवाहरूले गर्दा खाडीको मरुभूमि मलिलो भएको छ, कतारमा संरचना बनेको छ । नासामा कति आविष्कार भएका छन्, युवा शक्तिको अभाव रहेको जापानमा उद्योग धन्दा, कल कारखाना, होटल व्यवसायमा श्रमिकहरूको अभाव पूर्ति भएको छ । अस्ट्रेलिया श्रम शक्ति चलिरहेकै छ तर, सधैँ हाम्रो देश बत्ती मुनि अँध्यारो जस्तै बनिरहेछ ।
आफ्ना नागरिकहरूलाई देश प्यारो लाग्नु पर्ने हो, माटोको माया हुनुपर्ने हो, आमाको काखमा रमाउनुपर्ने होइन र ? देश फिर्दा खुसीका लड्डु बाँड्नुपर्ने हो, घर रमाउनु पर्ने परिवार रमाउनु पर्ने अनि समाज रमाउनु पर्ने हो तर यही छ विडम्बना देश फिर्दा पोल्छ यहाँको व्यवस्थाले, अस्तव्यस्तताले, बेथितिले, अभावले, भ्रष्टाचारले, गुण्डागर्दीले, कुसंस्कारले, कुरीतिले, नातावादले, चाकडी र चाप्लुसीले परिणाम आफ्नो देश छोड्दा यसरी नै खुसीका लड्डुहरू बाँड्छौ अर्काको देशको भिसा लाग्दा रमाउँछौ कस्तो विडम्बनामा बाँचिरहेका छौ हामी अनि कुन मानसिकतामा हुर्किरहेका छौ ।
नेपाली समाजको आजको यथार्थता र आवश्यकता नै यस्तै बनिसक्यो कि १२ पास गरिसकेपछि देश छोड्ने सम्पन्न मुलुकको भिसा निकाल्ने साथीभाइ इष्टमित्र भेला पार्ने लड्डु बाँड्ने अनि देशलाई टाटा बाइबाई गरिदिने सके सधैँको लागि नसके यौवनका उर्वर अनगिन्ती वसन्तहरू ।
के हामीले सक्दैनौ, हामीकहाँ सक्षम नेतृत्वहरू नभएकै हुन् त ? कि हामीले मानवीय विवेक प्रयोग गरी चुन्न र चिन्न नसकेकै हौ ? हाम्रै नेपालीहरू नासामा काम गरिरहेछन्, संसारभर केही उच्च ओहदामा पनि पुगिरहेका छन् । देशमा के ले रोक्यो हामीलाई किन विदेशमा सबै कुशलतापूर्वक गर्न सकिन्छ भने देशमा सकिन्न या गर्ने वातावरण छैन या अवरोधहरू आउँछन् या सिस्टमले पिरोल्छ सताउँछ, असहज बनाउँछ दिक्क लगाउँछ ।
बौद्धिकतामा अङ्कुश लगाउँछन्, लगानीमा चन्दा उठाउँछन्, सृजनामा हस्तक्षेप गर्छन् या गर्नै दिँदैनन् या हुँदैन बन्दैन । ईमान्दारीताको मूल्य हुँदैन या यो देशमा आटनै आउँदैन सिस्टमले गर्दा । लगानीकर्ता आफ्नो लगानी सुरक्षित होस् भन्ने चाहन्छन्, बौद्धिकहरू कसैको चाकडीबिना देशमै स्वाभिमान र सम्मानका साथ जिउन चाहन्छन् ।
योजनाकारहरू नयाँ उत्कृष्ट योजनाहरू देशमै लागु गर्न चाहन्छन्, ईन्जिनियरहरु ठूला ठूला संरचनाहरू कसैको दबाब, रबाफ र कमिसन बिना बनाउन चाहन्छन्, वकिलहरू स्वतन्त्र र समान न्यायको आशा गर्छन्, डाक्टरहरू निस्वार्थ सेवा गर्न चाहन्छन्, चालकहरू कसैको दुर्घटनापछि हत्या नहोस् चाहन्छन्, व्यापारीहरू मूल्य वृद्धि नहोस् भन्ने चाहन्छन्, बालिकाहरू बलात्कारबाट सुरक्षित बन्न चाहन्छन् ।
युवाहरू देशमै रोजगार होस्, कलकारखाना,उद्योग धन्दा, विकास सुव्यवस्था, सडक पानी, बिजुली प्रशस्ति होस् भन्ने चाहन्छन् । विदेश के को लागि जाने किन जाने ? यी दुई अनुत्तरित प्रश्नको उत्तर यो मुलुकले आजसम्म दिनै सकेन । उत्तरको खोजीमा लाखौँ युवाहरू यसरी नै देश छोडिरहने छन् ।
पंतिकारलाई केही महिना अघि एक जापानी प्रोफेसरले सोधे ‘तिम्रो देशमा बत्ती छैन हो’ मलाई चिच्च्याएर भन्न मन थियो बत्ती मात्र के पानी छैन, सडक छैन, शिक्षा छैन । छैन ।। केही पनि छैन ! यस्ता प्रश्नहरूले जबसम्म हामीलाई हिर्काई रहन्छ तबसम्म देश छोड्दा कत्ति पनि दुःख नमानी लड्डु बाँड्दै देश त्यागिदिन्छौ, छोडिदिन्छौ ।
- मोहन खतिवडा -टोकियो, जापान