Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

एक सामान्य र शिक्षित नेपाली नागरिकले अब पनि देशको चिन्ता गर्दैन भने कसले गरिदिने ! चिन्ता गरेरै पनि के हुने ! अलिकति पनि देशका जनप्रतिनिधिहरूले नागरिकहरूलाई (जसमा राजनीति दलका कार्यकर्ता समावेश छैनन्) विश्वासको वातावरण आफू र आफ्ना पार्टीप्रति किन बनाउन सकेनन् प्रजातन्त्र पश्चातका यतिका वर्षहरूसम्म पनि ।

म एक सामान्य र देशले भन्ने र मान्ने गरेको शिक्षित नागरिक आफ्ना आयुको धेरै वर्षहरू अध्ययनको क्रममा भारत अनि जापानमा रहे बसे अध्ययन गरेर बिताए पनि फरक दुई भूगोलहरूमा। केही देखे,कति भोगे र धेरै सिके पनि।  सिकाइका चरणहरू त देशमा पनि नभएका होइनन् । सिक्ने कुराहरू देश अनुसार फरक त हुने नै भए । भारतमा अध्ययन गर्दा देखेका सिकेका र भोगेका कुराहरू, त्यसपछि नेपालमा शिक्षा हासिल गर्दै गर्दा देखेका सपनाहरू अनि आज जापानमा अध्ययन पश्चातका यतिका बर्सहरू बरालिँदै गर्दा यहाँका राजनीतिक चरित्रहरू, पात्रहरू, राजनैतिक गणितहरू मेरा चासोका विषय बन्ने गरेका छन् आजपनि ।

मैले यो पनि राम्रोसँग अध्ययन गरेको छु कि राजनीति नसुध्रिए देश, नागरिक सुध्रिन भन्ने कुरा अनि यस्तो पनि लाग्छ कुरा गर्नेले काम गर्दैन काम गर्नेले कुरै गर्दैनन् । बजारमा आएका राम्रा सामानहरू विज्ञापन धेरै नभएपनि बिक्छन् तर खराब सामानहरू धेरै विज्ञापन भएर पनि बिक्दैनन् । मेरो देश गरिब छ साँच्चिकै यो मानेमा गरिब होइन कि देशमा कुनै प्राकृतिक रिसोर्स नै छैन, दक्ष युवाशक्ति छैनन्, पर्यटन प्रवर्द्धनको लागि चाहिने प्रचुर प्राकृतिक मनोरम दृश्यहरू छैनन् ।हिमाल छैन पहाड छैन अनि तराई छैन । आखिर यो सब किन् ?

सबै कुरा प्रकृतिको वरदान हुँदाहुँदै पनि किन देशको यावत अमूल्य स्रोतहरू अभिसाप बनेका छन् । म एक सामान्य नागरिकले त केही वर्ष विदेशमा रहँदै गर्दा देखेका भोगेका र अध्ययन गरेका विषयवस्तुहरू सँगालेर देश विकासका केही खाकाहरू तयार गर्न सक्छु यदि कसैले चाहन्छ भने सिङ्गो एक दिन देशका लागि आजसम्मका अनुभव, शिक्षा तथा भोगाइहरू सँगालेर योजना दिन सक्छु भने जीवन नै राजनीतिमा समर्पण गरेका तमाम राजनीतिज्ञहरूले किन दुनियाँ देखेर भोगेर घुमेर पनि देश विकासको दीर्घकालीन योजना ल्याउन सक्दैन या देश विकासमा स्वाभिमानी कदमहरू चाल्दैनन् ।

यो पनि सत्य होला सायद गरिबीको लागि पहिले आफू अघाउनु पर्‍यो त्यसपछि सोचौला भन्ने कुरा । अरे बाबा अब त अघाएका शेरहरूले देशले लागि केही त सोचौँ मृत्युले पन्जा फैलाउनु अघि केही देशका लागि पुण्य त गरौँ । अझै राम्रा कामहरू त गर्न सकेनौ भैगो नराम्रा कामहरू नगरौँ यसमै भलो हुनेछ ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ सार्थक छ यो भनाई यति धेरै युवाशक्ति भएको देश नेपाल, अरबौँ राजस्व कर उठाउन सकिने सानो र सुन्दर देश,संसारकै फूलबगान हो नेपाल,हामी श्रीखण्डको बगैँचामा बसेर वर्षौँ देश आची गन्हाउँछौ ? कसले आची गर्‍यो, कहाँ आची गर्‍यो,किन गन्हायो कहिले यो विषयमा सोधेनौ खोजेनौ र बुझेनौ पनि बरु त्यही बाटो लगातार हिँडिरह्यौ नाक छोपेरै भएपनि न त आची गर्नेहरूलाई खोज्यौ न त हिँड्ने बाटो नै बदल्यौ फलतः हामी आफै गन्हायौ अनि बल्ल थाहा पायौ आफै फोहोरी भएकोमा ।

कानूनको विद्यार्थी भएको नाताले कुनै पनि देशले दिने विकास अनुदान या आयोजना संसदबाद अनुमोदन हुनुपर्ने कुरा त्यति मनासिब देख्दिन पनि । विकासे अनुदान सम्झौता देशको कानूनभन्दा माथि रहने कुरा असान्दर्भिक र अशोभनीय देखियो।नेपालका कानूनसँग एमसीसी बाझिए एमसीसीका सर्तहरू नेपालको कानूनभन्दा माथि रहने । करिब पचास अरब जतिको एउटा सामान्य अनुदान आयोजनाले देशको राजनीतिमा उथल पुथल ल्याउनु कतिको जायज होला एक आम नागरिकले पनि सहजै अनुमान लगाउन सक्छ ।देशको सद्भाव बिथोल्ने यस्ता अनुदानहरूमा नेतृत्वहरू किन हात धोएर लाइनमा बसिरहेका छन् यो गम्भीर देशको समस्या बन्दै छ पनि ।

आयोजना समाप्त पछि पनि किन अमेरिका नेपालमा बस्न चाहन्छ ? यसको सन्देश के हो विज्ञहरूले बुझ्नु जरुरी छ ।आफ्नो घर नै जलाएर क्षणिक आगो तापी शरीर न्यानो बनाउनु के दीर्घकालीन समाधान होला र ? समग्र देश र राष्ट्रमाथि वैदेशिक नङ्ग्रा फिँजाउने कुनै पनि कार्य देशको लागि सदा घातक हुनेछ ।

देशको कानून भन्दा माथि राखेर कुनै एक देशको सहयोग,अनुदान लाई हाम्रा देशका नेतृत्वहरुले पारित गर्ने दुस्साहस गर्छन् भने अब अन्तिम भोजको तयारी हुँदैछ भन्ने कुरा किन नबुझ्ने र ? कुनै अन्तिम भोजपछि बारम्बार भोज हुँदैन सायद यो सम्झौता पारित गर्नु भनेको देशको अन्तिम भोजको तयारी हो जसमा स्वतन्त्र नागरिकहरू सामेल हुने छैनन् ।

बरु आधा पेटमा नै रमाएर बस्छन् सन्तुष्ट हुन्छन् तर विषाक्त अन्तिम भोज खाएर देश नै विषमय बनाउन चाहन्नन् भन्ने कुरै वर्तमान एमसीसीविरुद्धको सडक आन्दोलनहरूबाट बुझ्न सकिन्छ । नागरिकहरू यस्ता कुनै विषाक्त भोजमा सामेल हुने छैनन् देशका लागि यो नै अन्तिम खतरनाक भोज हुनेछ जुन भोजमा सामेल हुनेहरू भोलि भोज खुवाउनेकै हली बन्नु पर्ने बाध्यात्मक स्थिति बनाइने छ । बहुत पछुताउने छन् ‘अर्काको नासो गलामा पासो’ बन्ने निश्चित छ भोज हुने दिनलाई इतिहासले अन्तिम कालो भोजको नामकरण गरिदिनेछ ।

  • मोहन खतिवडा –टोकियो, जापान
तपाईको प्रतिक्रिया