आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं –  बेलायतकी महारानी एलिजावेथ द्वितीयाले आफूले युवराज चार्ल्स राजा बन्ने बेला उनकी पत्नी तथा डचेज अफ कोर्नवाल क्यामिला महारानी बनून् भन्ने चाहेको स्पष्ट पारेकी छन् । आफूले राजगद्दी आरोहण गरेको ७०औं वर्षगाँठका अवसरमा मुलुकका नाममा प्रशारित सन्देशमा एलिजावेथले सो मनसाय व्यक्त गरेकी हुन् ।

यसअघिसम्म क्यामिलालाई युवराजकी पत्नीको मात्र परिचय दिइने अनुमान गरिएको थियो । तर, एलिजावेथको यस औपचारिक घोषणापछि अब उनी बेलायतको भावी महारानी बन्ने निश्चित भएको छ । क्लारेन्स हाउसका प्रवक्ताले एलिजावेथको यस घोषणाबाट प्रिन्स अफ वेल्स र डचेज अफ कोर्नवालले सम्मानित र खुसी भएको महसुस गरेको बताएका छन् । एलिजावेथ सन् १९५२ मा महारानी बनेकी थिइन् ।

बेलायती शाही परम्पराअनुसार महारानीकी पतिलाई छुट्टै किसिमले सम्बोधन गर्ने गरिन्छ । महारानी एलिजावेथका पति राजकुमार फिलिप र महारानी भिक्टोरियाका पति राजकुमार अल्वर्ट राजाका रूपमा नभई राजकुमार पतिको परिचयबाट मात्र चिनिँदै आएका छन् ।

अब क्यामिलाको महारानी बन्ने सौभाग्य नरोकिने भएको छ । सन् २००५ मा दुवै पारपाचुके प्राप्त अवस्थामा चार्ल्स र क्यामिलाबीच कानुनी रूपमा विवाह भएको थियो । त्यसअघि, चार्ल्सका युवराज्ञी डायनासँग विवाह भएको थियो । डायनाको फ्रान्सको राजधानी पेरिसमा एउटा कार दुर्घटनामा मृत्यु हुनु एक वर्षअघि अर्थात् सन् १९९६ मा यी दुईबीच सम्बन्धविच्छेद भएको थियो ।

तपाईको प्रतिक्रिया