बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

बेनी : म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ। चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्वीर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ। अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ ।

‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल भएसँगै रत्नेचौर घुम्न आउने बढेका छन्,’ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले भने ‘तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि सुन्दर, आकर्षक र मनमोहक देखिएको रत्नेचौरमा रमाउन आएकाहरुको चहलपहल छ।’

तोरी फूलेको खेतको फाँटको पृष्ठभूमिमा पहाडी भूगोल र धवलागिरी हिमाल। खेतको बीचमा कालोपत्रे सडक। सडकको दायाँ र बायाँ परम्परागत तथा आधुनिक घरहरुको ग्रामिण बस्ती रत्नेचौरको आकर्षण हो।

पूर्व फर्किएको रत्नेचौरको पृष्ठभूमिमा संसारको सातौं अग्लो आठ हजार १६७ मिटर उचाइको धवलागिरी हिमाल देखिन्छ। तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले आकर्षण थपेको स्थानीय भानु माद्य्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए।

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा पुग्ने सडकखण्डको १८ सय मिटर सडक गत वर्ष कालोपत्रे र ढलान भएको थियो। तोरी फूलेको खेतको बीचमा रहेको सडकमा फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भिड लागेको स्थानीय कृष्ण बोगटीले बताए।

‘बेनी, बाग्लुङ, कुश्मा, गल्कोट र पोखराबाट युवायुवति देखि वयस्कहरु गाडीनै रिजर्भ गरेर रत्नेचौर घुम्न आएका छन्,’ उनले भने ‘दैनिक २०० जनाको हाराहारीमा पर्यटक आएका छन्। यसअघि खासै चर्चा र चलहपहल थिएन्।’ बालबालिका, युवायुवती देखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौरको तोरीबारीमा रमाउन पुगेका छन्।

उनीहरु त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउँछन्। तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडकसमेत ‘भाइरल रोड’ बनेको छ।

 

तपाईको प्रतिक्रिया