बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमा सन् २०११ मा फुकिशिमा आणविक भट्टी पग्लिएपछि निस्किएको विकिरणका कारण आफूहरूलाई थाइराइड क्यान्सर भएको भन्दै ६ जना युवाले मुद्दा दायर गरेका छन् । उनीहरूले भट्टी सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टीइपीसीओ) माथि कारबाही गर्नसमेत माग गरेका छन् ।

बिहीबार युवाहरूका तर्फका वकिलहरू टोकियो जिल्ला अदालतमा पुगेका थिए । भट्टीविरुद्ध मुद्दा दायर गर्ने क्रममा अदालतमा युवाहरूको पक्षमा फुकिशिमाका दर्जनौँ मानिस उपस्थित भएका थिए । मानिसको स्वास्थ्यमा हुने असरलाई लिएर आणविक भट्टीविरुद्ध पहिलो पटक मुद्दा हालिएको हो ।

सन् २०११ को मार्च ११ मा फुकुशिमामा शक्तिशाली भूकम्पपछिको सुनामीले आणविक भट्टी पग्लिँदा सो क्षेत्रमा मानिसहरू प्रभावित भएका थिए । अदालतमा मुद्दा दायर गर्ने क्रममा पीडितसहित सो क्षेत्रमा प्रभावित अन्य व्यक्तिहरू पनि उपस्थित थिए ।

विकिरणका कारण क्यान्सर भएका ६ जनाकै थाइराइड ग्रन्थिको शल्यक्रिया भएको उनीहरूका वकिलले बताएका छन् । पीडितले ६१ करोड ६० लाख जापानी येन क्षतिपूर्ति माग गरेका छन् । विकिरणका कारण फुकिशिमाको मानिसमा स्वतथ्यसम्बन्धी प्रत्यक्ष कुनै समस्या नभएको एक वर्षअघि राष्ट्रसंघको विज्ञहरूको एउटा टोलीले निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया