मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडाैं – अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्नो सबै विमान र हेलिकप्टर फिर्ता गर्न छिमेकी मुलुकलाई चेतावनी दिएको छ । उनीहरुले विमान फिर्ता नगरे तालिबानले जवाफी कारबाही गर्न सक्ने बताएको छ ।

तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकुब मुजाहिदले बुधबार यस्तो बताएका हुन् । काबुलमा अफगानिस्तानका पाइलट र एयर फोर्सका कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारको पालामा छिमेकी मुलुकमा लगिएका विमानहरु अफगानिस्तानको सम्पत्ति भएको र ती विमान फिर्ता हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी छिमेकी मुलुकको तुलनमा कमजोर हुन सक्छौं तर डरपोक छैनौं र हामी आफ्नो विमान र हेलिकप्टरको प्रत्येक पार्ट फिर्ता लिएरै छाड्नेछौं । म उनीहरुलाई आग्रह गर्न चाहन्छु कि उनीहरुले हाम्रो धैर्यको परीक्षा नलिऊन् र हाम्रो विमान र हेलिकप्टर फिर्ता गरुन् ।’

मोहम्मद याकूब मुजाहिदले देश छाडेर नजाने अफगानिस्तानको वायु सेनाका पाइलट र इन्जिनियरहरुलाई धन्यवाद दिए र गत महिना देश छाडेर बाहिर गएका पाइलट तथा इन्जिनियरहरुलाई पनि देश फर्किन आग्रह गरेका छन् । उनले आफूहरुले एयर फोर्सलाई बलियो बनाउने चाहेको उल्लेख गरेका छन् । वायु सेन विदेशी आर्थिक सहयोगमा निर्भर हुन नहुने र अफगानिस्तानको सीमा सुरक्षा गर्न सक्ने किसिमको हुनुपर्ने उनको भनाइ छ ।

टोलो न्युजको समाचारमा उल्लेख गरिएअनुसार तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै ४० भन्दा धेरै विमान ताजकिस्तान र उज्वेकिस्तान लगिएको छ । यस विषयमा ताजकिस्तान र उज्वेकिस्तानले भने केही पनि बताएका छैनन् ।

तपाईको प्रतिक्रिया