बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

मृत्यु आफैमा भयङ्कर सत्य हो अपत्यारिलो र निस्तेज पनि । मृत्यु चाहेर हुने र नचाहेरै नहुने पनि त होइन । लाग्छ शत्रुको पनि मृत्युको खबर सुन्न नपरोस् । सधैँ शुभ रहोस् सबैको शुभ होस् बाचुन्जेल सबैको शुभ खबर मात्रै सुन्न पाइयोस् यी कानहरूले अनि सबैको खुसी सहित ओठमा मुस्कान मात्रै देख्न पाइयोस् यी आँखाहरूले । कसलाई के थाहा सायद यो आर्टिकल प्रकाशित हुँदा सम्म मेरो मृत्यु भइसकेको हुनेछ ।

जीवन अनिश्चितताको साँघुरो घेरामा छ मानिस तँछाडमछाड गर्दै लडिरहेछन् । घरमा झगडा छ परिवारमा बोलचाल छैन, दाइ भाइसँग बोल्दैन भाइ दाइसँग, बाबु-छोराको काटमार हुन्छ, बुहारी सासूको मनमुटाब भइरहन्छ । छिमेकी छिमेकीसँगै बोल्दैन अरूको प्रगतिमा जल्छ यो समाज । जीवन के नै छ र आखिर ! मानिस यो धर्तीमा नाङ्गै आउँछ र खालि हातै जान्छ । न कसैले महल बोकेर जान्छ न भएको बैंक ब्यालेन्स लिएरै नै जान्छ तर पनि कति कमजोर सोचमा बाचिरहन्छौ हामी ।

करिब एक दशकको हाराहारीमा परदेश रहिरहँदा मैले धेरै मानिसहरूको भोगाइहरूलाई नजिकबाट नियालेको छु, गरिबहरूको खुसी देखेको छु या भनौँ नभएरै पनि रमाएकाहरू प्रशस्ति देखेको छु अनि अथाह सम्पत्ति महल ऐस आराम महँगा साधन सबथोक भएरै पनि दुःखी आत्माहरू पनि प्रशस्ति भेट्ने अवसर पाएको छु ।

सबैकुरा सम्पन्न भएरै पनि मन विचलित भएका अतृप्तहरू र केही नभएरै पनि खुसीले सम्पन्न हुनेहरू प्रशस्तै नियालेको छु । यिनै दुई थरीका मानिसहरूको क्रिडास्थलमा रहेछ यो समाज यो मेरो नितान्त व्यक्तिगत बुझाई पनि हो । पछिल्ला केही बर्सहरूमा मानिसहरू परदेशमा अनाहकमा मृत्यु स्विकारिरहेछन् कति जानाजान जीवन फालिरहेछन् त केही तनाव, डिप्रेसन, ईष्या, आक्रोश आदि इत्यादिबाट मृत्युवरण गर्न विवश छन् ।

ईश्वरीय सृष्टि बहुत सुन्दर छ तर उत्तिकै कठोर र कुरूप पनि यो कटु सत्य हो । हामीले यही सृष्टिको सुन्दरतामा रमाउँदै कठोर सत्यतालाई आत्मसात् गर्दै कुरुप्ताहरुलाई मनको सुन्दरताले जित्नै पर्छ । जीवन खुसीले जिउन जाने प्रशस्ति छ नजाने भयङ्कर बरबादी पनि ।

मानिस एउटा अजीव प्राणी हो जो सँग सन्तुष्टिको कुनै इन्द्रेणी छैन असन्तुष्टिको तौल पनि। सपनाहरू धेरै देख्छ केही आफै पूरा हुन्छन् केही समयले गरिदिन्छ कुनै मेहनतले पूरा गर्छ तर पूरा नभएका सपनाहरूले पूरा भएका सपनाहरूलाई जिस्क्याइरहन्छन्, गिजोलिरहन्छन् । उसलाई लाग्दैन धेरै सपनाहरू त मैले पुरा गरिसकेको छु तर थोरै बाँकी अधूरा सपनाहरूमै असन्तुष्टि बन्छ मानिस,रुवाबासी चल्छ मनमा,आफैप्रति हार्छ । आफ्ना सफलताहरूमा टेकेर अघि बढ्न नसक्नेहरू फेरि कहिल्यै नउठ्ने गरी अस्ताउँछन् पनि ।

हामी नेपालीहरू भविष्यको लागि खुसी खोज्न कोही अध्ययनका क्रममा बिदेसिन्छौ त कोही रोजगारको नाममा संसारको कुना कुनामा पुग्छौ । परदेश भूमि त्यति सजिलो पनि त छैन संघर्षमा जिउन । रहन सहन, रीति रिवाज,समयको पालना, इमानदारिताको घेरामा जिउन हामी नेपालीहरूलाई असाध्यै गाह्रो हुन्छ किनकि हामी कहिल्यै संस्कार र इमानदारीताको कठोर परिधिमा हुर्केनौ र हुर्काइएन पनि ।

सक्षम भएपछि आफ्नो लागि आफैले केही गर्नु पर्छ भन्ने कठोर संस्कार र संस्कृति पनि छैन हामीकहाँ । पुर्ख्यौली सम्पत्तिमा मोजमस्ती गर्ने पुरातन धारणा हामीसँग जिउँदै छ अझै पनि । मेरो बाबुको प्रशस्ति धन छ मैले किन काम गर्ने यस्तै सोचमा अल्झिरहेका छौ हामी । परदेश हो यहाँ एक्लै जिउनु पर्छ, एक्लै उभिनु पर्छ, अनि एक्लै हिँड्नु पर्छ पनि यो एक्लै जिउनेहरूको विराट समाज हो । देश छोड्दा मनमा बुनिएका अनगिन्ती सपनाका महलहरूले परदेश हुँदा असाध्यै चिमोटिरहन्छ सायद जो कोहीलाई पनि ।सत्य स्विकार्नेहरू समय क्रमसँगै सफल पनि भएका छन् आत्तिएर पिरोलिनेहरू कति बरबादी पनि ।

हिजोआज जापानकै कुरा गर्दा नेपालीहरूको मृत्युको खबर पनि सुनिन्छ यो अति दुःखद समाचार पनि हो । कामना गरौँ यस्ता घटनाहरू कम हुँदै जाओस् ।जसमा हामी आफैले पनि आफ्नो जिन्दगीलाई ख्याल राखौँ, समयको ख्याल, निन्द्राको ख्याल, खाने कुराको ख्याल । जीवन बहुत महँगो मणि हो फुर्सदमा सजाऔँ । त्यस्तै सुतेको ठाउँमा मृत्यु भएका समाचार आत्महत्याका समाचारहरू पनि सुनिन्छन् बहुत-बहुत ख्याल राख्नुहोला, जीवन हारेर होइन बाँचेर जित्नु छ । यो सिंगो संसारलाई ।

जीवन बाँचेर जित्ने हो यो संसार तपाईँकै लागि हो सिर्फ तपाईँकै । तपाईँकै खुसी र सफलतामा सृष्टि रङ्गिने छ, इन्द्रेणी अझै चम्कने छ चराहरूले सफलताको संगितमा सुवास भर्ने छन् । यो सृष्टिले तपाईँकै गीत गाउने छ । सबैको जय होस् । सबैको शुभ रहोस् ।

  • मोहन खतिवडा -टोकियो, जापान

तपाईको प्रतिक्रिया